१६ चैत, काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई अब घुस दिनुपर्ने, कामका लागि लाइनमा बस्नुपर्ने वा थुनिनुपर्ने अवस्था अन्त्य हुने बताएका छन्।
सोमबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिसँगको भेटमा उनले यस्तो आश्वासन दिएका हुन्। साथै उनले लगानी वृद्धि र रोजगारी सिर्जनामा जोड दिन निजी क्षेत्रलाई आग्रह गरे।
उनले आफू घुस खान नआएको र कसैलाई पनि घुस खान नदिने स्पष्ट पार्दै देशको अर्थतन्त्रलाई नयाँ दिशामा अघि बढाउने लक्ष्य रहेको बताए।
निजी क्षेत्रलाई अब अनावश्यक दुःख नहुने बताउँदै उनले सरकारलाई सहयात्रीको रूपमा लिने विश्वास व्यक्त गरे। अब घुस दिनुपर्ने, लाइन लाग्नुपर्ने वा व्यवसायीहरू थुनिनुपर्ने अवस्था नरहने उनको भनाइ थियो।
आर्थिक बेइमानीका मामिलामा अब कैदभन्दा आर्थिक जरिवाना लगाउने नीति ल्याउने योजना रहेको उनले स्पष्ट पारे। तर, राज्य सहयोगी बन्दा निजी क्षेत्र पनि इमानदार बन्ने अपेक्षा राखिएको उनले बताए। यदि कसैले जानाजानी बेइमानी गरेमा सरकार कडा रूपमा प्रस्तुत हुने चेतावनी पनि उनले दिए।



