प्रसङ्गः
कुनै पनि साधन कार्य सम्पादन गर्ने माध्यम मात्र हो । साध्य ता कामको परिणाम हो । एउटा साधनले धेरै प्रकारका काम गर्छ । जस्तै एउटा भाँडोमा दूध तात्छ, भात पाक्छ, दाल-तरकारी पाक्छ, आदि, आदि । किनभने त्यो भाँडो साधन हो त्यसैले त्यसलाई आवश्यकता अनुसार उपयोग गर्न सकिन्छ । साध्य त ज्ञान सीप हो । ज्ञान सीप जुनसुकै भाषाका माध्यमबाट पनि आर्जन गर्न सकिन्छ । अझ भन्नु पर्दा भाषा ज्ञान होइन यो ता सीप वा मान्छेको बानी, ब्यवहार हो । कुनै पनि ज्ञान भण्डारको बाह्य पक्ष वा बाहिर प्रस्तुत गर्ने माध्यम मात्र हो । त्यो ज्ञान जुनसुकै भाषामा पनि प्रकट हुन सक्छ ।
प्रवेशः
प्राचीन कालमा पश्चिममा ल्याटिन भाषा विकसित थियो र यसैको भाषिक राज थियो । कालान्तरमा जर्मनी, फ्रान्सेली आदि धेरै भाषाहरु विकसित भए । अहिले भाषिक साम्राज्य जमाइरहेको अंग्रेजी त निकै पछि जन्मिएको हो ।
पूर्वमा भने प्राचीनकालमा संस्कृत भाषा धेरै विकसित थियो । प्राचीन कालदेखि आजसम्म पनि संस्कृत भाषामा जति उत्कृष्ट ग्रन्थ अरु कुनै भाषामा लेखिएका छैनन् । यसबाट पाली /प्राकृत हुदै बिक्रमको एघारौँ शताब्दी तिर हिन्दी, बंगाली, नेपाली, भोजपुरी, मैथिली आदि आदि भाषाहरु जन्मिए र आ–आफ्नै गतिमा विकसित हुदै आए ।
जुन भाषाभाषीहरु जति धेरै विद्वान हुन्छन् ती भाषा त्यतिनै धेरै विकसित हुन्छन् । जति ठूलो समाजले स्वीकार्छ भाषा त्यतिनै बिस्तार हुन्छ । अहिलेको अंग्रेजी त्यही भएको हो । भाषा निरन्तर विकास र परिवर्तनको गतिमा अघि बढिरहन्छ । जहिले पनि भाषाको काम समकालीन समाजको आवश्यकता पूर्ति गर्नु हो । त्यसकारण समकालीन समाजको आवश्यकता पूर्ति गर्ने खालको भाषाको रुप प्रचलनमा आउँछ । नेपालीमा उखानै छ “बुढा मरै भाषा सरै ।”
भानुभक्तका युगको भाषा आज धेरै परिवर्तन भैसकेको छ । भाषा भनेको मान्छेले सिकेको उसको बानी ब्यवहार हो । यो ठाउँपिच्छे फरक हुन्छ । हिन्दीमा एउटा भनाइ छ “एक कदम पे पानी बदले दो कदम पे बानी ।” जहाँ जति जस्ता रुप चले पनि भाषा एउटा सियो हो त्यसको माध्यमबाट औषधिरुपी ज्ञान लगाइन्छ । जुनसुकै कम्पनीको सियो भए पनि औषधि लागेझैँ जुनसुकै भाषा भए पनि ज्ञान सिके पुग्छ ।
मुख्य कुरा :
नेपालमा फेरि अहिले नेपाली भाषालाई अपहेलना गर्ने प्रवृत्तिको बिकास भएको छ । भानु उदाउनुभन्दा पहिले पाखे बोली भनेर हेलाँ गरिन्थ्यो । संस्कृतलाई नै सम्मानित भाषा मानिन्थ्यो । दरवारमा भने अङ्ग्रेजीको राम्रै स्थान थियो । जब राणा शासन सकियो त्यसपछि नेपाली भाषाको राम्रै विकास र बिस्तार भयो । विद्यालय महाविद्यालयमा पढाइ हुन थाल्यो । शिक्षाको माध्यम बन्यो । २०१७ सालदेखि राष्ट्रभाषाको मान्यता पायो । त्यतिन्जेलमा साझा सम्पर्कको बोली भैसकेको थियो । सरकारी कामकाजको भाषा बन्यो । भानु, मोतीराम, लेखनाथ, देवकोटा, सम, रिमाल लगायत थुप्रै भाषासेवीहरुले यस भाषालाई विकसित बनाउन अमुल्य योगदान दिए । यी सबै कारणहरुले गर्दा २००८ सालदेखि २०४० सालसम्म नेपाली भाषा बिकासको उर्बर वा स्वर्ण काल रह्यो ।
नेपालको इतिहासमा २०३६।३७ साल एक महत्वपूर्ण घटनाका वर्षहरु हुन् । २०३७ सालमा भएको निर्दल र बहुदल बिचको जनमत संग्रहपछि नेपालमा निजी विद्यालयहरु खुले । चालीस र पचासको दशकमा ता मकैका फुल उठेजत्तिकै खुले यसप्रकारका विद्यालयहरु । ती विद्यालयहरुमा विद्यर्थीहरुको आकर्षण र अभिभावकहरुको विश्वास पनि बढ्यो । सरकारी विद्यालय र महाविद्यालयहरु आकर्षण हिन निरस बने । हुनेले खर्च गरेर र नहुनेले ऋण गरेर भए पनि निजी विद्यालयमै छोराछोरी पढाउने लहर चल्यो । जिम्मेवार पक्षहरुबाट भन्ने एकथोक गर्ने एकथोक गरेर सामुदायिक शिक्षाको लिनसम्म हुर्मत लिए ।
निजी विद्यालय विशेष गरेर शहर केन्द्रित भए । यी विद्यालयहरुले कुनै नयाँ वा विशेष किसिमको ज्ञान सीप दिएर आकर्षण गरेका भने होइनन् । अङ्ग्रेजी भाषा र टाइ लगाउन सिकाए बास् फरक यति हो । निर्दिष्ट पाठ्यवस्तु घोकाएर एस्.एल्.सि. परीक्षामा राम्रो नतिज भने दिएकै हुन् । यही कारण पनि विश्वसनीय बने । यी विद्यालय र महाविद्यालयहरुका माध्यमबाट नेपाली भाषाको नियोजन पनि कसैले नियोजित रुपमै अभियानका रुपमा अघि बढायो । यी विद्यालयहरुमा नेपाली भाषाका ठाउँमा अंग्रेजी भाषा बाहेक अरु केही पनि दिइएन । निजी शिक्षा एउटा असाध्यै राम्रो पेसा भयो । सायद कति विद्यालयका संचालकहरुलाई थाहै छैन होला हाम्रो पेसालाई माध्यम बनाएर हामै्र भाषा र संस्कृति मास्ने अभियान कसैले चलाउँदैछ भनेर ।
बहुदलीय अभ्यास प्रारम्भ हुदा निश्चयनै राजनैतिक तरलता थियो । हाम्रा नेताहरुमा परिपक्वताको कमी, संसार र समाजको बुझाइको कमी र पैसाप्रतिको अति मोहले गर्दा यस समयमा पश्चिमाहरुले राम्ररी खेल्ने मौका पाए । कमजोर बिपन्न मुलुकमा अनुदान, योजना सिकाउने र गैरसरकारी संस्थाका माध्यमबाट विशेष गरेर युरोपिय युनियनका अभियानहरु यहाँ चलाइए । चकलेट दिएर रोग लगाएझैँ तिनका माध्यमबाट हाम्रो भाषा र संस्कृतिमाथि विशेष प्रहार भयो ।
ती महाचतुरहरुले यहाँको कमजोर अवस्थालाई आफ्नो निहित स्वर्थ पूर्तिमा अत्यधिक उपयोग गरे । प्रसस्त पैसा कमाएका पश्चिमाहरुको उद्देश्यनै कमजोर देशको भाषा र संस्कृति माथि प्रहार गरी आफ्नो दास बनाउनु हो । यस अभियानमा चालिसको दशकमा राम्ररी जग बसाएका उनीहरुले पचासको दशकको अशान्तिको समयमा अझ तिब्र बनाउने मलिलो समय पाए । बिगत तिन दशकमा यहाँ भाषा र संस्कृतिमाथि यति प्रहार भयो कि समाज ब्यवस्थानै उथलपुथलको अवस्था आयो । उनीहरु पनि सगर्व सफलतातर्फ गैरहेका छन् ।
नेपाली भाषाको (नर्सरी) ब्याडनै बाँझो हुन लागिरहेको छ । निजी विद्यालयमा त यो भएकोे थियाे तर अब सामुदायिक विद्यालयमा पनि साना नानीहरुलाई अभियानकै रुपमा अङ्ग्रेजी माध्यम लगाइदैछ । यसका अभियन्ता वर्गलाई प्रश्न छ : विद्यार्थीलाई ज्ञान, सीप वा जीवनोपयोगी शिक्षा चाहिएको हो कि अंग्रेजीबाज बन्न चाहिएको हो ? अंग्रेजीले जीवन सहज भैहाल्छ भने अंग्रेजी भाषाभाषीले नपढे पनि भैहाल्नु पर्ने हो त । हाम्रा नीति निर्माताहरु चुकेका हुन् कि बिकेका हुन् ? के भाषाको माध्यम परिवर्तन गर्दा शिक्षा जीवनोपयोगी भैहाल्छ र ? चीन, जापान, जर्मन, फ्रान्स, रुस जस्ता थुप्रै मुलुकले के आफ्नो भाषा मासेरनै बिकास गरेका हुन् त ?
अन्त्यमा :
युरोपियनहरु महाचतुर छन् भन्ने कुरा पृथ्वीनाराण शाहले राम्ररी बुझका थिए र त उनले तिनीहरुलाई भित्र पस्न नदिनू भने, तिनका पैसा नलिनू भने । तर पछिल्लो चरणमा हामी अत्यन्तै कमजोर भएछौँ । यतिसम्म कि बहादुर भनेर नाम कमाएका हामी हाम्रै सााँधसिमाना मिचिदा पनि टुलुटुलु हेरेर बस्ने केही बोल्न नसक्ने भैसकेछौँ । हाम्रा कमीकमजोरीको फाइदा अरुले उठाए । उनीहरुकै स्वार्थ पूरा गरे । अब पनि हाम्रो भाषा सक्ने खेल तीब्र रुपमा हाम्रै मान्छेलाई प्रलोभनमा पारेर, प्रयोग गरेर भैरहेछ । हामी भने यति कमायौँ र उति कमायौँमा मख्ख छौँ ।
भाषाको बिकास र परिवर्तन छिटो हुन्छ तर संस्कृतिको परिवर्तन बिस्तारै हुन्छ । यदि त्यो भाषाभाषीको संस्कृति बोक्ने भाषा सकियो भने संस्कृति स्वतः सकिन्छ । यो सामान्य कुरो छैन । भोलिको पुस्ता नेपाली भाषा नजान्ने र अङ्ग्रेजी मात्र जान्ने भयो भने त्यसले अंग्रेजीकै संस्कृति अँगाल्न बाध्य हुन्छ । त्यो परिस्थिति बहन गर्न नै आज ब्यापक रुपमा चर्च स्थापना भएका छन् र भैरहेछन् ।
हेर्दा सामान्य लाग्छ विद्यालयहरुमा अङ्ग्रेजी माध्यममा पढाइ हुन्छ राम्रो भो भनिन्छ । तर यसको दुरगामी असर हाम्रो काबुभन्दा बाहिर हुन सक्छ । त्यो बेला पछुताउनु बाहेक केही हुदैन । आखिर राम्रो ज्ञान सीप नेपाली भाषामा दिदा के हुन्छ र । हामी हाम्रा बालबालिकालाई ज्ञान र सीप दिन लागौँ, यतिन्जेल त अल्मलियौँ । चाहिएको ज्ञान र सीप हो भाषा त माध्यम मात्र हो । -नेपाली साहित्य घरबाट