नेपालको विकास र समृद्धिको लक्ष्य हासिल गर्नका लागि आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाइने: अर्थमन्त्री

२८ भदौ, काठमाडौं – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको विकास र समृद्धिको लक्ष्य हासिल गर्नका लागि आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाउने बताएका छन् ।

आन्तरिक राजस्व विभागको निरीक्षणपछि आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आन्तरिक स्रोत परिचालन थप प्रभावकारी बनाउन कर प्रणालीलाई थप आधुनिकीकरण गर्ने, करदाताको कर सहभागिता लागत घटाउने, प्रविधिमैत्री जनशक्ति विकासलाई प्राथमिकता दिने बताए ।

उनले करको दायरा विस्तार गर्ने, करदातामैत्री वातावरण सिर्जना गर्ने, करदाता सेवाको गुणस्तरमा वृद्धि गर्ने, स्वेच्छिक कर सहभागिता अभिवृद्धि गर्ने, कर छली र चुहावट रोकिने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए । अर्थमन्त्री पौडेलले कार्य प्रकृया सरलीकरण गर्ने, जोखिममा आधारित कर परीक्षण तथा विद्युतीय सुशासनमा जोड दिँदै नतिजामा आधारित व्यवसायिक संगठन तथा कार्य विशिष्टकरणको लागि संस्थागत सुधारमा पनि थप पहल गर्ने बताए ।

ठूला कर कार्यालयहरुको बक्यौता र बेरुजु बढेको भन्दै उनले बक्यौता असुली र बेरुजु फर्छ्यौटको विशेष अभियान नै सञ्चालन गर्न निर्देशन दिए ।

कार्यक्रममा अर्थ सचिव रामप्रसाद घिमिरेले आफ्नो जिम्मेवारी र दायित्व बुझेर काम गर्न कर्मचारीलाई निर्देशन दिए । राजस्व सचिव दिनेशकुमार घिमिरेले राजस्व परिचालनको लक्ष्यलाई ध्यान दिएर अघि बढ्न निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *