३ असोज, काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान रक्षाका लागि राष्ट्रपति रामचन्द्र पौडेलले अप्ठ्यारो परिस्थितिमा पनि देखाएको दृढताप्रति कृतज्ञता प्रकट गरेका छन्।
संविधान दिवसको अवसरमा शुक्रबार पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले भदौ २३ र २४ गते जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिमा राष्ट्रपतिले निर्वाह गरेको भूमिकाको खुलेर प्रशंसा गरेका हुन् ।
“राष्ट्रपतिजी निकै अप्ठ्यारो अवस्थामा संविधान जोगाउन दृढतापूर्वक उभिनुभयो। उहाँ त्यस्तो कदम चाल्नु नभएको भए अहिलेको अवस्था अर्कै हुन्थ्यो,” प्रचण्डले भने, “त्यसैले उहाँलाई धन्यवाद छ।”
जेन–जी आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार पतन भएको थियो। त्यसपछि अन्तरिम सरकार गठनको पहलस्वरूप राष्ट्रपतिले विभिन्न दल तथा आन्दोलन पक्षधरहरूसँग संवाद थालेका थिए। सो घटनाक्रममा आफूलाई पनि सहजीकरण गर्ने अवसर दिएको प्रचण्डले बताए।
“मैले प्रत्यक्ष रूपमा संसद विघटन मात्रै होइन, संविधान खारेज गर्ने र राष्ट्रपतिलाई पदमुक्त गर्ने प्रयासहरू समेत नजिकबाट देखेँ र बुझ्ने मौका पाएँ,” उनले भने। संविधान र राष्ट्रपति संस्थाको रक्षा गर्न माओवादी पक्षको पनि ठूलो योगदान रहेको उनको दाबी छ।
प्रचण्डले त्यस क्रममा प्रधान सेनापति अशोकराज सिग्देलको भूमिकाको पनि प्रशंसा गरे। उनका अनुसार, सेनापतिले राजनीतिक निकास नखुलेमा देश गम्भीर अवस्थातर्फ धकेलिन सक्ने देखेर सहजीकरण गर्न पहल गरेका थिए। “मेरो दृष्टिमा उहाँ पनि धन्यवादको पात्र हुनुहुन्छ,” उनले भने।
उनले अरू दलहरूसँगको संवाद र सहकार्यकै आधारमा सुशीला कार्कीको नेतृत्वमा अहिलेको अन्तरिम सरकार बनेको पनि स्पष्ट पारे। “संविधान जोगाउन अन्ततः हामी सबै जुट्यौं, त्यसैले आज यो अवस्था सम्भव भएको हो,” प्रचण्डले जोड दिए।



