२३ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनमा उम्मेदवारी दिने विषयमा आफूले अहिलेसम्म कुनै निर्णय नगरेको स्पष्ट गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने चर्चा चलिरहेका बेला उनले यसबारे निर्णय नलिएको बताएका हुन् ।
बुधबार नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खरेलले आफू र वर्तमान सरकारको सम्पूर्ण ध्यान निर्वाचन सम्पन्न गराउन केन्द्रित रहेको बताए । उनले भने, आफूले चुनाव लड्ने वा नलड्नेबारे कुनै निर्णय नगरेको र अहिलेसम्म कुनै पनि राजनीतिक पार्टीमा प्रवेश नगरेको स्पष्ट पारे । कुनै दलसँग वार्ता, छलफल वा आवद्ध हुने घोषणा नगरेको समेत उनको भनाइ थियो ।
मन्त्री खरेलले हाल अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको सरकारले चुनाव गराउनमै ध्यान दिएको बताए । निर्वाचनमा उठ्ने विषयमा कुनै पार्टीसँग छलफल नगरेको अवस्थालाई लिएर सञ्चार माध्यमहरूमा आएका समाचारप्रति उनले असन्तुष्टि व्यक्त गर्दै, आफूले चुनाव लड्ने वा नलड्नेबारे कुनै निर्णय नगरेको तथ्य दोहोर्याए ।



