२४ पुस, काठमाडौं — कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुस २७ र २८ गते काठमाडौंमा हुने दोस्रो विशेष महाधिवेशन पार्टी विभाजनका लागि नभई समयअनुसार पार्टीलाई पुनः ऊर्जावान बनाउँदै स्पष्ट दिशा दिन आयोजना गरिएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै शर्माले विशेष महाधिवेशन पूर्ण रूपमा वैधानिक, बाध्यकारी र वर्तमान परिस्थितिको आवश्यकता भएको उल्लेख गरेका छन्। विशेष महाधिवेशनको घोषणा भएसँगै पार्टीभित्र र बाहिर उठेका आशंकाप्रति प्रतिक्रिया दिँदै उनले यसले पार्टी फुटाउने होइन भन्ने स्पष्ट पारेका छन्। “विशेष महाधिवेशन हुन्छ, तर पार्टी विभाजित हुँदैन,” भन्दै शर्माले पार्टी विभाजनको अवस्था आए आफू सबैभन्दा पहिले अधिवेशन हलबाट बाहिर निस्केर पार्टी जोगाउन सबैसँगै उभिने बताएका छन्।
महाधिवेशनको वैधानिकतामाथि उठाइएका प्रश्न अनावश्यक भएको बताउँदै उनले पार्टी विधानको धारा १७(२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष कारणसहित लिखित माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनैपर्ने व्यवस्था रहेको स्मरण गराएका छन्। उनका अनुसार केन्द्रीय समितिले चाहेन भन्दै यस्तो महाधिवेशन रोक्न नमिल्ने व्यवस्था विधानमै छ।
विशेष महाधिवेशन आवश्यक पर्नुको कारण स्पष्ट पार्दै शर्माले अहिलेको नेपाल भदौ २३ अघिको नेपाल नरहेको बताएका छन्। समय, परिस्थिति, चुनौती र जिम्मेवारी फेरिएको अवस्थामा पार्टीले एउटै मञ्चमा उभिएर नयाँ सोच, योजना र संकल्प लिनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। यही कारणले विशेष अवस्था, विशेष निर्णय र विशेष महाधिवेशन अपरिहार्य बनेको उनले बताएका छन्।
महाधिवेशन मागका क्रममा हस्ताक्षर नगरेका प्रतिनिधि सहभागी हुन नपाउने भन्ने चर्चा पनि आधारहीन भएको शर्माले स्पष्ट पारेका छन्। विशेष महाधिवेशन हस्ताक्षर गर्नेहरू मात्रको नभई सबै महाधिवेशन प्रतिनिधिको साझा मञ्च भएको उल्लेख गर्दै उनले पुस २७ गते भृकुटीमण्डपमा हुने उद्घाटन समारोहमा सबै तहका नेता–कार्यकर्तालाई सहभागी हुन आग्रह गरेका छन्।
विशेष महाधिवेशनले माघ ६ को उम्मेदवारी दर्ता र फागुन २१ को निर्वाचन प्रक्रियामा असर पार्ने भन्ने आशंकाप्रति असहमति जनाउँदै शर्माले निष्क्रिय बसेको कांग्रेसभन्दा सक्रिय र ऊर्जाशील कांग्रेसले राम्रो नतिजा दिने दाबी गरेका छन्। विशेष महाधिवेशन सफलतापूर्वक सम्पन्न गरी पार्टी एकताबद्ध भएर निर्वाचनमा जाने उनको भनाइ छ।
बदलिएको समयको जिम्मेवारी बुझ्दै पार्टीले आफूलाई रूपान्तरण गर्नुपर्ने धारणा राख्दै शर्माले विधानको व्यवस्था कार्यान्वयन गर्नु पार्टी विभाजन नभई विधानको संरक्षण भएको बताएका छन्। असहमति भए पनि शिष्ट र नम्र रूपमा प्रस्तुत हुन आग्रह गर्दै उनले विचारको अभिव्यक्ति शान्त र सौम्य हुनुपर्ने उल्लेख गरेका छन्। विशेष महाधिवेशन बदलिएको समयको कांग्रेस र परिवर्तन चाहिने देशका लागि भएको निष्कर्षमा उनी पुगेका छन्।



