१८ माघ, काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सांसद योगेशकुमार भट्टराईले संसद्को बैठकलाई प्रभावकारी बनाउन सरकारका तर्फबाट प्रस्तुत दिशानिर्देशलाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आफ्नो दलको तर्फबाट धारणा राख्दै उनले मुलुकको आवश्यकतालाई प्राथमिकतामा राख्दै संसद्को यस अधिवेशनमा ४० वटा विधेयक प्रभावकारी रूपमा अघि बढाउन सकिने विश्वास व्यक्त गरे।
“वर्तमान सरकार गठन भएको छ महिनाको अवधिमा जनअपेक्षालाई सम्बोधन गर्दै परिणाममुखी निष्कर्ष निकाल्ने प्रयास भइरहेको छ। यस अवधिमा जनतामा आशा जगाउने कार्य भएको छ, अर्थतन्त्रमा सुधार देखिएको छ,” उनले दाबी गरे।
सरकारले पछिल्लो समय ल्याएका केही अध्यादेशहरूले लगानी विस्तारको वातावरण बनाएको उल्लेख गर्दै उनले “विगतमा पनि यस्ता अभ्यासहरू भएका थिए, जसले दीर्घकालीन सुधारमा योगदान पुर्याउनेछ,” भने।
भूमिहीन तथा सुकुम्बासीको व्यवस्थापनका लागि ल्याइएको अध्यादेशलाई उनले सरकारको महत्त्वपूर्ण कदमका रूपमा व्याख्या गरे।
लोकतन्त्रलाई बलियो बनाउने, गणतन्त्रलाई थप संस्थागत गर्ने र मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्ने लक्ष्यसहित संविधान संशोधनको विषय अघि सारिएको भट्टराईको तर्क छ। उनले सरकार गठनका क्रममा कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिमा संविधान संशोधनको विषय उल्लेख गरिएको भन्दै यसले लोकतन्त्रलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।