१८ माघ, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार नै भ्रष्टाचार र भ्रष्टाचारीहरूको संरक्षणमा लागेको आरोप लगाएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अहिलेसम्मको अवस्था हेर्दा सरकार भ्रष्टाचार रोक्नभन्दा पनि भ्रष्टाचारीलाई जोगाउन सक्रिय देखिएको बताए।
“प्रधानमन्त्री केपी शर्मा ओलीकै वरिपरिका व्यक्तिहरूले विभिन्न पदहरूमा करोडौं रुपैयाँको अफर गरिरहेका छन्। प्रधानमन्त्रीले ‘म भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ’ भन्नुहुन्छ, तर उहाँकै वरिपरिकाले गरिरहेका छन्,” लिङ्देनले आरोप लगाए।
प्रधानमन्त्री ओलीले संसद् बैठकमा आफूले भ्रष्टाचार नगरेको प्रमाणित गर्न चुनौती दिएका थिए। उनले “कसैसँग प्रमाण छ भने ल्याओस्,” भन्दै आफू स्वच्छ रहेको दाबी गरेका थिए। तर, लिङ्देनले भने सरकारको कार्यशैलीले भ्रष्टाचारलाई बढावा दिएको स्पष्ट संकेत गरेको जिकिर गरे।
उनले भ्रष्टाचारसम्बन्धी ऐन अनुसार कुनै पनि पदाधिकारी पदबाट बाहिरिएपछि पाँच वर्षभित्र मात्रै उजुरी गर्न मिल्ने प्रावधान राख्न खोजिएकोमा आपत्ति जनाए।
सरकारले ६ महिनाको उपलब्धि भनेर प्रस्तुत गरेका कामहरू पहिले नै हुने निश्चित रहेको उल्लेख गर्दै लिङ्देनले व्यंग्य गर्दै भने, “सिद्धबाबाको सुरुङ मार्ग ब्रेक थ्रु वा बंगलादेशसँग भएको विद्युत् व्यापार सम्झौता यो सरकार नभएको भए पनि हुने नै थियो। कांग्रेस र एमाले मिलेर बनेको सरकारले गरेको उपलब्धि यही मात्र हो भने, देशमा सरकार छैन भन्नु नै उचित हुन्छ।”