१८ जेठ, काठमाडौं — सुस्ता बचाउ अभियान नवलपरासी नेपालले भारतले विवादरहित क्षेत्रभित्र भइरहेको तटबन्ध निर्माणको कामसमेत रोक्न खोजेको आरोप लगाएको छ।
अभियानका अनुसार नेपाल र भारत दुवैले विवादित नभनेको भूभागमा समेत भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले अवरोध सिर्जना गरेको हो।
नेपाल पक्षले थारू टोलस्थित सिमलको रुखसम्मको क्षेत्रलाई नेपाली भूमि मान्दै आएको छ। भारतीय पक्षले भने सिमलको रुखभन्दा करिब एक सय मिटर तल रहेको भेल्लरको रुखसम्म मात्रै नेपालको भूभाग रहेको दाबी गर्दै आएको छ। तर हाल तटबन्ध निर्माणको काम भइरहेको स्थान भने भेल्लरको रुखभन्दा पनि तल अर्थात् नेपालतर्फ रहेको बताइएको छ।
सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालका अनुसार भारतले आफ्नो दाबीको सीमाभन्दा करिब ३० मिटर नेपालतर्फ निर्माण भइरहेको तटबन्धसमेत रोक्न खोजेको छ।
नेपालले सिमलको रुखसम्मको क्षेत्र समेट्ने गरी १३२ मिटर लामो तटबन्ध निर्माणका लागि ठेक्का प्रक्रिया पूरा गरिसकेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत भरतपुरस्थित सिँचाइ तथा जलस्रोत आयोजना कार्यालयले नारायणी नदीको बाढी नियन्त्रणका लागि पश्चिम नवलपरासीको सुस्तामा करिब १२ करोड रुपैयाँ लागतमा तटबन्ध निर्माणको काम अघि बढाइरहेको छ।
हाल नदीको तल्लो भाग (डाउनस्ट्रिम) क्षेत्रमा करिब एक किलोमिटर लामो तटबन्ध निर्माण भइरहेको छ। यसै क्रममा हालको निर्माणस्थलबाट करिब ४०० मिटर माथिल्लो भाग (अपस्ट्रिम) मा थप १३२ मिटर लामो तटबन्ध निर्माणका लागि ठेक्का लागिसकेको भए पनि काम भने अझै सुरु भएको छैन।
स्रोतका अनुसार केही दिनअघि एसएसबीका एक प्रतिनिधि निर्माणस्थलमै पुगेर काम रोक्न निर्देशन दिएका थिए। त्यसपछि पनि अवरोधको क्रम जारी रहेको बताइएको छ।
स्रोतले दिएको जानकारीअनुसार भारतले आफ्नो दाबी गरेको क्षेत्रमा निर्माण कार्य सुरु नै भएको छैन। हाल भइरहेको काम नेपालकै भूभागमा भए पनि एसएसबीले त्यसमा समेत आपत्ति जनाएको छ।
एसएसबीले काम रोक्न आग्रह गरेपछि आयोजनाका इन्जिनियरहरूले जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएका थिए। त्यसपछि प्रमुख जिल्ला अधिकारी दीपक नेपालले गृह मन्त्रालयलाई घटनाबारे अवगत गराउनुका साथै सशस्त्र प्रहरी बलका अधिकारीलाई एसएसबीसँग समन्वय गरेर विषय बुझ्न निर्देशन दिएका थिए।
आइतबार भारतीय एसएसबी र नेपाल सशस्त्र प्रहरी बलका अधिकारीहरूबीच यस विषयमा छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएको स्रोतले जनाएको छ। त्यसपछि नेपाली भूभागमा भइरहेको तटबन्ध निर्माणको काम पनि रोकिएको छ।
सुस्ता बचाउ अभियानका प्रवक्ता जैसवालका अनुसार प्रधानमन्त्री बालेन शाहले संसद्मा सीमा सम्बन्धी अभिव्यक्ति दिनुअघि नै एसएसबीले तटबन्ध निर्माण रोक्न प्रयास गरिसकेको थियो।
उनले प्रधानमन्त्रीको अभिव्यक्ति र निर्माण कार्य रोकिएको घटनाबीच प्रत्यक्ष सम्बन्ध नरहेको दाबी गर्दै यस्तो विषयले सीमा समस्या समाधानको दीर्घकालीन प्रक्रियामा असर पार्न सक्ने टिप्पणी गरेका छन्।



