१७ जेठ, काठमाडौं — प्रतिनिधिसभाको दोस्रो बैठक कार्यसूचीमा प्रवेश नै नगरी मंगलबारसम्मका लागि स्थगित गरिएको छ।
सोमबार बसेको दोस्रो बैठकमा नेपाल–भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलका सांसदहरूले पुनः विरोध जनाएपछि बैठक सञ्चालन हुन सकेन। त्यसपछि सभामुखले बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन्।
बैठक सुरु भएलगत्तै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए। त्यसक्रममा सभामुख डोल प्रसाद अर्यालले संसद् कानून निर्माण गर्ने महत्वपूर्ण थलो भएकाले सदनको नियमित सञ्चालनका लागि सहयोग गर्न सांसदहरूलाई आग्रह गरे।
लगातारको अवरोधका कारण सभामुख अर्यालले दिनका लागि तय गरिएका सम्पूर्ण कार्यसूची हटाइएको घोषणा गरेका थिए।
त्यसपछि उनले संसद् बैठकमा अमर्यादित व्यवहार प्रदर्शन गरेको आरोप लागेका सांसदहरूमाथि छानबिन गर्न समिति गठन गरिएको जानकारी गराए।
छानबिन समितिबारे जानकारी गराएपछि सभामुखले प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको घोषणा गरेका थिए।



