वीरगञ्जका मेयर राजेशमान सिंह ४ लाख १५ हजार रुपैयाँ धरौटीमा रिहा हुने

१९ जेठ, काठमाडौं — पर्सा जिल्ला अदालतले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई दुई वटा मुद्दामा धरौटीमा रिहा गर्न आदेश दिएको छ।

सोमबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले सिंहलाई झुटा विवरण पेस गरी नागरिकता बनाएको तथा लिखतसम्बन्धी कसुरमा धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी जयनारायण यादवले जानकारी दिए।

अदालतले झुटा विवरण पेस गरी नागरिकता बनाएको आरोपमा १५ हजार रुपैयाँ र लिखतसम्बन्धी कसुरमा ४ लाख रुपैयाँ धरौटी माग गरेको छ। आदेशपछि सिंह धरौटी रकम बुझाउने प्रक्रियामा रहेका छन्।

सिंहविरुद्ध जेठ ८ गते पक्राउ पुर्जी जारी भएको थियो। उनलाई प्रहरीले सोमबार बिहान पर्साको ठोरीबाट पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो।

पर्सा जिल्ला अदालतले यसअघि लिखतसम्बन्धी मुद्दामा सिंह, सिन्धुपाल्चोकको इन्द्रावती नगरपालिकाकी रिता भट्टराई तथा वीरगञ्ज महानगरपालिका–३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

अभियोग अनुसार मेयर सिंहले रिता भट्टराईकी छोरी रुविना श्रेष्ठलाई आफ्नी छोरीका रूपमा देखाई फर्जी जन्मदर्ता गराएको र सोही आधारमा नागरिकता बनाएको आरोप छ। अर्काकी छोरीलाई आफ्नै सन्तान देखाएर नागरिकता र राहदानी बनाइ विदेश पठाइएको आरोपसमेत उनीमाथि लगाइएको छ।

यस घटनासम्बन्धी सिंहविरुद्ध लिखतसम्बन्धी कसुर, झुटा विवरण पेस गरी नागरिकता प्राप्त गरेको तथा राहदानी बनाएको आरोपमा मुद्दा चलिरहेको छ। तीमध्ये नागरिकता र लिखतसम्बन्धी कसुरको मुद्दामा अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।

अभियोजन पक्षले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत किर्ते कागजसम्बन्धी व्यवस्थाअनुसार सरकारी वा सार्वजनिक लिखतमा कसुर गरेको दाबी गरेको छ। उक्त कसुर प्रमाणित भए सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको सजाय हुन सक्ने कानुनी व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

भारतीय प्रधानमन्त्री मोदीसँग रवि लामिछानेको भेट, द्विपक्षीय हितका विषयमा छलफल

भारतीय प्रधानमन्त्री मोदीसँग रवि लामिछानेको भेट, द्विपक्षीय हितका विषयमा छलफल

२० जेठ, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर...
राष्ट्रिय सभाको बैठक आज, बजेटमाथि छलफल सुरु हुने

राष्ट्रिय सभाको बैठक आज, बजेटमाथि छलफल सुरु हुने

२० जेठ, काठमाडौं — संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठक मध्याह्न १२:१५ बजेका लागि बोलाइएको छ। बैठकमा राष्ट्रि...
निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै ओली

निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै ओली

२० जेठ, काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो सार्वजनिक कार्यक्रममा बुधबार सहभागी हुँदै...
सीमा विवादसम्बन्धी अभिव्यक्तिमा संसद् तात्यो, सभामुखसँगै विपक्षीको सवालजवाफ

सीमा विवादसम्बन्धी अभिव्यक्तिमा संसद् तात्यो, सभामुखसँगै विपक्षीको सवालजवाफ

१९ जेठ, काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल–भारत सीमा विवादसम्बन्धी अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा जारी गतिरोध मंगलब...