१२ जेठ, काठमाडौं — सर्वोच्च अदालतले नजिर वा कानुनी सिद्धान्तविपरीत फैसला गर्दैमा कुनै न्यायाधीशविरुद्ध अदालतको अवहेलना मुद्दा चलाउन नमिल्ने व्याख्या गरेको छ ।
उच्च अदालत पाटनका न्यायाधीशहरूले नजिरको सिद्धान्तविपरीत विवादास्पद आदेश दिएको भन्दै उनीहरूविरुद्ध सर्वोच्च अदालतमा अवहेलना सम्बन्धी निवेदन दर्ता गरिएको थियो । सोही निवेदनमाथि न्यायाधीश शारंगा सुवेदी र मेघराज पोखरेलको इजलासले यस्तो निर्णय गरेको हो ।
सर्वोच्चले फैसला वा आदेशप्रति असहमति भए त्यसका लागि अन्य कानुनी उपायहरू उपलब्ध हुने भएकाले अवहेलनाको कारबाही उपयुक्त माध्यम नहुने निष्कर्ष निकालेको छ ।
यो विवाद नेपाल ल क्याम्पसका विद्यार्थी विवेक चौधरीले दायर गरेको रिटसँग सम्बन्धित थियो । उनले ट्राफिक प्रहरीको कामकारबाहीमाथि प्रश्न उठाउँदै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।
उनले ट्राफिक प्रहरीले सवारीसाधनमा ह्विल लक लगाउने कार्य कानुनी अधिकारभन्दा बाहिर रहेको दाबी गरेका थिए । तर उच्च अदालत पाटनले नियमविपरीत स्थानमा रोकिएका सवारीमा ह्विल लक लगाउन सकिने भन्दै रिट खारेज गरेको थियो ।
त्यसपछि चौधरीले उच्च अदालतका न्यायाधीश ऋषिराज भण्डारी र गोपालप्रसाद बाँस्तोलाले सर्वोच्चको बाध्यकारी नजिर उल्लंघन गरेको दाबी गर्दै उनीहरूविरुद्ध अवहेलना कारबाहीको माग गरेका थिए ।
सर्वोच्च अदालतले भने न्यायाधीशले फैसला गर्दा नजिरको प्रयोगमा त्रुटि भए पनि त्यसलाई अवहेलनाको आधार मान्न नसकिने स्पष्ट गरेको छ ।
संक्षिप्त आदेशमा सर्वोच्चले उल्लेख गरेको छ, “न्यायाधीशले आफ्नो न्यायिक जिम्मेवारी पूरा गर्ने क्रममा व्याख्यासम्बन्धी त्रुटि गरेको आधारमा मात्रै अवहेलना कारबाही चलाउन सकिँदैन ।”
अदालतले अन्तर्राष्ट्रिय अभ्यास, कानुनी सिद्धान्त र न्यायिक मान्यताको आधारमा पनि यस्तो निष्कर्ष निकालेको जनाएको छ ।
सर्वोच्चका अनुसार अवहेलना हुनका लागि आदेश वा निर्णयको स्पष्ट जानकारी हुँदाहुँदै बदनियतपूर्वक जानाजान उल्लंघन गरिएको हुनुपर्छ ।
फैसलामा असन्तुष्टि भए पुनरावेदन वा दोहोर्याइ पाउने निवेदनजस्ता कानुनी उपाय प्रयोग गर्न सकिने अदालतले स्पष्ट पारेको छ ।
सर्वोच्चले “अवहेलना कानुनी त्रुटि सच्याउने माध्यम होइन, अदालतको आदेश र निर्णयको सम्मान तथा कार्यान्वयन सुनिश्चित गर्ने प्रक्रिया हो” भन्ने व्याख्या पनि गरेको छ ।
यो निर्णय गत चैत १९, २०८२ मा गरिएको थियो भने केही दिनअघि मात्रै त्यसको पूर्णपाठ सार्वजनिक गरिएको हो ।



