१ असार, काठमाडौं — भारतीय पक्षले नेपाली चिया निकासीमा विभिन्न कारण देखाउँदै अवरोध गरेपछि सोमबारदेखि इलामका चिया उद्योगहरू बन्द भएका छन्।
भारतले गुणस्तर परीक्षणको नाममा करिब डेढ महिनादेखि नेपाली चिया निर्यातमा अवरोध गरेपछि उद्योगीहरूले उद्योग बन्द गर्ने निर्णय गरेका हुन्।
निकासी रोकिएपछि उत्पादित चियाले बजार नपाएको र गोदाममै थन्किँदा बिग्रने जोखिम बढेकाले उद्योग बन्द गर्न बाध्य भएको व्यवसायीहरूले बताएका छन्।
नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताका अनुसार भारतीय चिया बोर्डले हालै लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) का कारण नेपाली चिया निर्यातमा ठूलो समस्या उत्पन्न भएको छ।
उनका अनुसार पहाडी क्षेत्रका अर्थोडक्स चिया उद्योगहरू सोमबारदेखि बन्द भएका छन् भने तराईका सीटीसी चिया उद्योगहरू ४ असारदेखि बन्द हुनेछन्।
गुप्ताले भारतीय चिया बोर्डले नेपाली चिया आयातकर्तालाई अनावश्यक झन्झट दिएपछि नेपाली चियाको बजार नै प्रभावित भएको बताए। अहिले भारतीय आयातकर्ताहरू नेपाली चिया खरिद गर्न इच्छुक नरहेको उनको भनाइ छ।
भारतीय भन्सारमा नेपाली चियाको नमुना संकलन गरेर परीक्षणका लागि पठाइने र त्यसको प्रतिवेदन आउन १५ देखि २० दिन लाग्ने प्रक्रियाका कारण पनि भारतीय आयातकर्ताहरू पछि हटेको उनले बताए।
परीक्षण प्रतिवेदनमा सामान्य कमीकमजोरी देखिए पनि चिया नष्ट गर्नुपर्ने जोखिम हुने भएकाले भारतीय व्यापारीहरू नेपाली चिया खरिद गर्न डराइरहेको उनको भनाइ छ।
‘चिया नै बिक्री नभएपछि उद्योग सञ्चालन गर्ने आधार रहेन,’ गुप्ताले भने।
नेपाल चिया उत्पादक संघका अनुसार इलाममा वार्षिक ६५ लाख किलो र झापामा वार्षिक २ करोड किलो चिया उत्पादन हुन्छ। नेपालमा उत्पादन हुने चियाको करिब ९० प्रतिशत भारतमै निर्यात हुने गरेको छ।
सूर्योदय अर्थोडक्स टि प्रोड्युसर्स एसोसिएसन नेपालले यसअघि जारी गरेको विज्ञप्तिअनुसार भारतीय चिया बोर्डले गुणस्तर परीक्षणका नाममा भारत पुगेको करिब २ लाख किलो नेपाली चिया आयातकर्ताको गोदाममै रोकेको छ। साथै निकासी अवरुद्ध हुँदा १० लाख किलोभन्दा बढी चिया उद्योगमै थन्किएर बिग्रने अवस्थामा पुगेको जनाएको छ।
उद्योगीहरूले यति ठूलो समस्या हुँदासमेत सरकारले चिया निर्यात सहज बनाउन कुनै कूटनीतिक पहल नगरेको गुनासो गरेका छन्।
उद्योग बन्द भएसँगै पहाडी क्षेत्रका ५६ वटा अर्थोडक्स चिया उद्योग र तराईका ३० वटा सीटीसी चिया उद्योग प्रभावित भएका छन्। यसको प्रत्यक्ष असर हजारौं मजदुर र हरियो चियापत्ती बिक्री गर्ने किसानमा परेको छ।
गुप्ताले दैनिक ज्यालादारीमा काम गर्ने मजदुर सबैभन्दा बढी प्रभावित भएको बताउँदै चिया बिक्री नभएकाले मजदुरको पारिश्रमिक र किसानलाई हरियो पत्तीको भुक्तानी गर्नसमेत समस्या भएको बताए।
उनका अनुसार चिया क्षेत्रमा देखिएको संकटबारे सरकारलाई विभिन्न माध्यमबाट जानकारी गराइएको छ र सरकारले छिट्टै कूटनीतिक पहल गर्ने अपेक्षा उद्योगीहरूको रहेको छ।



