२९ जेठ, काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनाल जेठ ३१ गतेदेखि चारदिने चीन भ्रमणमा जाने भएका छन्।
परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार मन्त्री खनालको भ्रमण जेठ ३१ देखि असार ३ गतेसम्म रहनेछ।
उनी चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीन जान लागेका हुन्।
मन्त्रालयका अनुसार भ्रमणका क्रममा बेइजिङमा परराष्ट्रमन्त्री खनाल र उनका चिनियाँ समकक्षी वाङ यीबीच द्विपक्षीय वार्ता हुनेछ। वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हितका विविध विषयमा सहकार्यका सम्भावनाबारे छलफल हुने जनाइएको छ।
भ्रमणका क्रममा मन्त्री खनालले चीनका उच्चस्तरीय पदाधिकारीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।
यसैगरी, नेपालमा विदेशी लगानी प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली दूतावासले आयोजना गर्ने इन्भेष्टमेन्ट कन्फ्रेन्समा पनि उनी सहभागी हुनेछन्। सम्मेलनमा उनले चिनियाँ व्यवसायी समुदायसँग छलफल गर्ने कार्यक्रम छ।
परराष्ट्रमन्त्री खनाल असार ३ गते नेपाल फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।



