१ असार, काठमाडौं — श्रम संस्कृति पार्टीले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले दिएको अभिव्यक्ति प्रतिनिधिसभाको रेकर्डबाट हटाउनुपर्ने माग पुनः दोहोर्याएको छ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति रेकर्डबाट कहिले हटाइन्छ भनेर सभामुखसँग प्रश्न गरे।
उनले, ‘प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाइयोस् भन्ने हाम्रो माग थियो। सभामुखज्यूले त्यो कहिले हटाउने आदेश दिनुहुन्छ भनेर हामी व्यग्रतापूर्वक पर्खिरहेका छौं,’ भने।
प्रधानमन्त्री बालेनले गत जेठ १७ गते प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उक्त अभिव्यक्ति दिएका थिए।
त्यसक्रममा उनले नेपालले पनि भारतको केही भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै विपक्षी दलहरूले त्यसयता निरन्तर आपत्ति जनाउँदै आएका छन्।



