१२ असार, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा महामन्त्री पदकी उम्मेदवार रञ्जु दर्शनाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्।
चितवनस्थित महाधिवेशन स्थलमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै उनले महामन्त्रीका उम्मेदवार विपिन आचार्यलाई समर्थन गर्ने घोषणा गरिन्।
‘आजको दिनमा मेरो समर्थन र भोट पनि विपिन आचार्यलाई,’ रञ्जुले भनिन्।
यसअघि महामन्त्री पदका उम्मेदवार गणेश पराजुली, प्रमोद न्यौपाने र कविन्द्र बुर्लाकोटीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिँदै विपिन आचार्यलाई समर्थन गरेका थिए।
त्यस्तै, शिशिर खनाल र जगदीश खरेल (ललितपुर)ले पनि यसअघि नै महामन्त्री पदको उम्मेदवारीबाट पछि हटेका थिए।
महामन्त्रीमा उम्मेदवारी दिने बताएका राजुनाथ पाण्डेले पनि अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका छन्।
यो समाचार तयार पार्दासम्म महामन्त्री पदका लागि विपिन आचार्य, मनिष झा, सागर ढकाल र गणेश कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ।



