काठमाडौं, असार ५ — ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका केही जीवजन्तुमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि चिडियाखाना अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ।
चिडियाखानाको व्यवस्थापन गर्दै आएको राष्ट्रिय प्रकृति संरक्षण कोषले शुक्रबार सूचना जारी गर्दै संक्रमणको जोखिम नियन्त्रण र आगन्तुकको सुरक्षालाई ध्यानमा राखेर तत्काल प्रभावबाट चिडियाखाना बन्द गर्ने निर्णय गरिएको जनाएको छ।
कोषका अनुसार बर्डफ्लु थप फैलिन नदिन आवश्यक सतर्कता अपनाउने उद्देश्यले चिडियाखानाभित्र सञ्चालन हुँदै आएका सबै गतिविधि हालका लागि स्थगित गरिएको छ। संक्रमण नियन्त्रण तथा अवस्थाको मूल्यांकनपछि मात्रै सेवा पुनः सञ्चालनबारे निर्णय गरिने जनाइएको छ।
यसअघि गत चैतमा कोशी प्रदेशबाट सुरु भएको बर्डफ्लु संक्रमण हालसम्म देशका १० जिल्लामा फैलिसकेको छ। पछिल्लो संक्रमणसँगै सम्बन्धित निकायहरूले आवश्यक निगरानी र रोकथामका उपायलाई थप तीव्र बनाएका छन्।



