१८ चैत, काठमाडौं — काठमाडौं महानगरपालिकाले आपतकालीन स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन एम्बुलेन्स सेवाको निरन्तरता र गुणस्तर सुधार गर्ने लक्ष्यसहित दुई पाङ्ग्रे एम्बुलेन्स सञ्चालनको तयारी थालेको छ।
कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा स्वास्थ्य विभाग, वित्त विभाग र नेपाल एम्बुलेन्स सेवाका प्रतिनिधिबीच सेवा सुधारका उपायबारे छलफल भएको थियो।
बैठकमा डंगोलले आपतकालीन अवस्थामा छिटो सेवा पुर्याउन दुई पाङ्ग्रे एम्बुलेन्स सञ्चालनको तयारी गर्न निर्देशन दिएकी छन्। सवारी चापका कारण चार पाङ्ग्रे एम्बुलेन्स ढिलो पुग्ने अवस्थालाई ध्यानमा राख्दै बिरामीसम्म चिकित्सकलाई छिटो पुर्याउने व्यवस्था आवश्यक रहेको उनले बताइन्।
त्यसैगरी, एम्बुलेन्स ट्र्याकिङ प्रणाली विकास गरी सेवाग्राहीले आफूले बोलाएको एम्बुलेन्सको अवस्थिति र भित्र रहेका स्वास्थ्यकर्मीबारे जानकारी पाउने व्यवस्था लागू गर्न पनि उनले जोड दिइन्।
यो सेवा ‘प्रिहस्पिटल मेडिकल सर्भिस’ अन्तर्गत सञ्चालन हुँदै आएको छ। महानगरपालिकाले २०७६ वैशाखमा सम्झौता गरेपछि हालसम्म १३ करोड ४४ लाख रुपैयाँ अनुदान उपलब्ध गराइसकेको छ। हाल प्रति बिरामी औसत १ हजार ६०५ रुपैयाँ खर्च हुने गरेको छ, जसको भार महानगरपालिकाले नै व्यहोर्दै आएको छ।
स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले उपत्यकाका अन्य स्थानीय तहसँग आर्थिक सहकार्यको सम्भावनामा छलफल गर्नुपर्ने बताए भने वित्त विभागका प्रमुख डा. शिवराज अधिकारीले लागत घटाउँदै सेवा गुणस्तर सुधार गर्न अध्ययन आवश्यक रहेको उल्लेख गरे।
एम्बुलेन्स सेवाका अध्यक्ष डा. अनिल श्रेष्ठले आपतकालीन सेवा सञ्चालन चुनौतीपूर्ण र संवेदनशील हुने बताए। सहकार्य सुरु भएयता ८४ हजार ४८९ जना बिरामीलाई सेवा दिइएको र ६९ जना गर्भवती महिलाले एम्बुलेन्समै शिशु जन्माएको जानकारी पनि दिइएको छ।
कोभिड–१९ महामारीका समयमा मात्रै २३ हजार ५ सय जनालाई सेवा प्रदान गरिएको थियो। हाल काठमाडौं उपत्यकाभित्र ७ वटा, कीर्तिपुर अस्पताल, ललितपुरको सातदोबाटो र भक्तपुरको सल्लाघारीमा एम्बुलेन्स सेवा सञ्चालनमा छ। ८ मिनेटभित्र सेवा पुर्याउने लक्ष्य पूरा गर्न उपत्यकामा कुल ४९ वटा एम्बुलेन्स आवश्यक पर्ने निष्कर्ष पनि बैठकले निकालेको छ।



