१२ साउन, काठमाडौं — वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। अस्पतालमा भएको तोडफोड, चिकित्सकमाथि भएको कुटपिट तथा त्यसपछिको घटनामा प्रशासनले दुर्व्यवहार गरेको आरोप लगाउँदै उनीहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) को राजीनामा माग गरेका छन्।
नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहका अनुसार अस्पतालमा कार्यरत करिब ७० चिकित्सकमध्ये झन्डै ४० जनाले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसकेका छन्। बाँकी चिकित्सकको हस्ताक्षर संकलन भइरहेको र सबैले राजीनामा दिने तयारीमा रहेको उनले बताएका छन्।
चिकित्सकहरूको आन्दोलनका कारण अस्पतालको आकस्मिक सेवा पनि प्रभावित भएको छ। डा. सिंहका अनुसार स्वास्थ्य मन्त्रालयले आकस्मिक सेवा सञ्चालन गर्न आग्रह गरेपछि चिकित्सकहरू वार्ताका लागि सकारात्मक भएका थिए।
उनका अनुसार चिकित्सकमाथि आक्रमण गर्ने व्यक्तिलाई पक्राउ गरी कानुनी कारबाही गर्ने आश्वासन पाएपछि चिकित्सकहरूको टोली वार्ताका लागि जिल्ला प्रशासन कार्यालय पुगेको थियो। तर, त्यहाँको वातावरण एकाएक तनावपूर्ण बनेको उनको दाबी छ।
डा. सिंहका अनुसार वार्ताका क्रममा नेपाल चिकित्सक संघका एक प्रतिनिधिले दोषीमाथि कारबाही नभए प्रशासनिक नेतृत्वको समेत राजीनामा माग्न सकिने बताएपछि सीडीओ आक्रोशित बने। त्यसपछि सीडीओ र एसपीले चिकित्सकहरूप्रति अपशब्द प्रयोग गर्दै प्रहरीलाई नियन्त्रणमा लिन निर्देशन दिएको आरोप उनले लगाएका छन्।
उनले भने, “वार्ताबाट बाहिर निस्कँदै गर्दा प्रहरी परिचालन गरेर चिकित्सकहरूलाई घेरा हालियो। मोबाइल फोन खोसियो र फेरि कार्यालयभित्र लगेर करिब एक घण्टा नियन्त्रणमा राखियो। अपराधीसरह व्यवहार गरियो। त्यसपछि यस्तो वातावरणमा काम गर्न नसकिने निष्कर्षमा पुगेका हौं।”
डा. सिंहका अनुसार प्रशासनको व्यवहारपछि सरकारी चिकित्सकहरूले सामूहिक राजीनामा दिने निर्णय गरेका हुन्। उनले सबै चिकित्सकले राजीनामा दिएपछि अस्पतालको आकस्मिक सेवा कसरी सञ्चालन हुन्छ भन्ने प्रश्न पनि उठाएका छन्। साथै, अस्पतालको सेवा लगभग ठप्प भएको उनको भनाइ छ।
उनले सीडीओ र एसपी पदमा रहुञ्जेल आफूहरू काममा नफर्किने अडान पनि दोहोर्याएका छन्। “अस्पतालभित्र चिकित्सकमाथि आक्रमण हुन्छ, वार्तामा बोलाएर प्रशासनले नै धम्क्याउँछ भने सुरक्षित वातावरण कसरी हुन्छ? यस्तो अवस्थामा उपचार सेवा दिन सकिँदैन,” उनले भने।
यसैबीच, नेपाल चिकित्सक संघले पनि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र त्यसपछि प्रशासनले गरेको व्यवहारको विरोध गर्दै मंगलबार देशभर आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।
संघले घटनामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न, चिकित्सकका लागि सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न तथा आवश्यक परे थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ।
गत ८ साउनमा वीरगन्जस्थित नारायणी अस्पतालमा डा. प्रमोद राममाथि कुटपिट भएको थियो। उक्त घटनामा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण हुनुका साथै अस्पतालमा तोडफोडसमेत गरिएको थियो। घाइते डा. रामको हाल राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
यस घटनापछि दोषीमाथि कारबाहीको माग गर्दै चिकित्सकहरूले देशभर ओपीडी सेवा बन्द गरेर आन्दोलन जारी राखेका छन्।



