२५ साउन, काठमाडौं — प्रधानमन्त्री बालेन शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आइतबार मध्याह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच शिष्टाचार भेट भएको हो।
प्रधानमन्त्री शाहलाई भेट्न भारतीय राजदूत श्रीवास्तव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए।
भेटवार्तामा नेपाल–भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा आपसी सहकार्यका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटका क्रममा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै नेपाल र भारतबीचको आपसी सम्बन्ध तथा सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै दुवै देशको साझा हितका क्षेत्रमा सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए।



