फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

२४ साउन, डोल्पा — हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका दुई वडा करिब एक महिनादेखि सञ्चार सेवाबाट वञ्चित भएका छन्।

नेपाल टेलिकमको टावर सञ्चालनमा नआएपछि नगरपालिकाको वडा नम्बर ५ र ६ का सयौँ नागरिक सामान्य फोन गर्नसमेत अग्ला डाँडाकाँडामा पुग्नुपर्ने बाध्यता रहेको छ। त्रिपुरासुन्दरी–५ खदाङकी स्थानीय मिना सार्कीका अनुसार लामो समयदेखि टावर नचल्दा आफन्तसँग सम्पर्क गर्नेदेखि आवश्यक सूचना आदानप्रदान गर्नसमेत समस्या भएको छ।

उनले भनिन्, ‘गाउँमा लामो समयदेखि टावर चलेको छैन। खबर आदानप्रदान गर्न निकै समस्या भइरहेको छ। झण्डै एक महिना भइसक्यो, अहिलेसम्म किन बनेन भन्ने जानकारी पनि छैन। अझै कति समय यसरी सम्पर्कविहीन बस्नुपर्ने हो, थाहा छैन।’ स्थानीयका अनुसार नेटवर्क नहुँदा दैनिक जीवनका सामान्य कामसमेत प्रभावित भएका छन्। त्रिपुरासुन्दरी–५ की वडा सदस्य सम्झना झाँक्रीले टेलिफोन सेवा अवरुद्ध हुँदा स्थानीयले निकै सास्ती खेप्नुपरेको बताइन्।

गाउँमा फोन नलागेपछि स्थानीय अग्ला डाँडाकाँडामा पुगेर मात्रै फोन गर्न बाध्य भएको उनले बताइन्। सञ्चार सेवा नहुँदा दैनिक कामकाज, आपत्कालीन सूचना आदानप्रदान तथा प्रशासनिक सम्पर्कमा समेत समस्या भएको उनको भनाइ छ। हाल त्रिपुरासुन्दरी–५ अन्तर्गतका ल्हा, खदाङ र करवगाड तथा वडा नम्बर ६ का फूलचिङ, श्रीविन्दे र पालङलगायत बस्तीका नागरिक सञ्चार सेवाको अभावमा छन्।

स्थानीयका अनुसार सञ्चार सेवा अवरुद्ध हुँदा करिब तीन सय घरधुरी प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। त्रिपुरासुन्दरी–६ का स्थानीय प्रकाश सार्कीका अनुसार उक्त क्षेत्रमा रहेको नेपाल टेलिकमको टावरमा फोरजी सेवा जडान गरिएपछि नेटवर्क थप अस्थिर भएको हो।

उनले भने, ‘पहिला टावर नियमितजस्तै चल्थ्यो। दिउँसो घाम लागेको बेला मात्रै भए पनि नेटवर्क आउँथ्यो। अहिले त त्यो पनि पूर्ण रूपमा बन्द छ। काठमाडौंमा पढ्ने छोरासँग लामो समयदेखि कुरा गर्न पाएको छैन। टावर कहिले बन्छ भन्ने पनि थाहा छैन।’

सुरक्षा निकायको काममा समेत असर

टावर सञ्चालनमा नहुँदा सुरक्षा निकायको कामसमेत प्रभावित भएको छ।

इलाका प्रहरी कार्यालय करवगाड–खदाङका प्रमुख पाण्डवकुमार सिंहका अनुसार जिल्लामा घटनाको जानकारी गराउन, समन्वय गर्न तथा दैनिक प्रतिवेदन पठाउन समस्या भइरहेको छ।

उनले भने, ‘टावर नहुँदा दैनिक कामकाज प्रभावित भएको छ। कुनै घटना भए तत्काल जानकारी गराउन वा जिल्लासँग समन्वय गर्न निकै कठिन भइरहेको छ। हाम्रो टोली नियमित गस्तीमा जान्छ। तर गस्तीका क्रममा आकस्मिक घटना भए तत्काल सूचना आदानप्रदान गर्न नसक्दा थप चुनौती सिर्जना भएको छ।’

त्यस्तै, त्रिपुरासुन्दरी–५ खदाङस्थित फोक्सुण्डो आधारभूत विद्यालयका प्रधानाध्यापक गोरख बुढाले पनि टावर अवरुद्ध हुँदा विद्यालयको दैनिक कामकाज तथा सूचना आदानप्रदानमा समस्या भइरहेको बताए।

सडक अवरुद्ध हुँदा प्राविधिक टोली फर्कियो

नेपाल दूरसञ्चार प्राधिकरण डोल्पाका कार्यालय प्रमुख दया विक्रम केसीका अनुसार टावर सञ्चालनका लागि नेपाल टेलिकमको कर्णाली प्रदेश कार्यालयबाट प्राविधिक टोली आए पनि सडक अवरुद्ध भएका कारण टावरसम्म पुग्न सकेन।

उनले भने, ‘टावर बनाउने भनेर प्रदेश कार्यालयबाट टोली आएको हो। तर सडकखण्ड अवरुद्ध भएका कारण बीच बाटोबाटै फर्किनुपर्‍यो।’ उनका अनुसार टावरमा विद्युत् सेवाको पहुँच नहुनु र पुरानो सोलार ब्याट्री बिग्रिनुका कारण समस्या भएको हो।

टावरसम्म विद्युत् प्रसारण लाइन विस्तारको काम सकिए पनि केही प्राविधिक कारणले सेवा सञ्चालनमा ढिलाइ भएको केसीले बताए। नेपाल विद्युत् प्राधिकरण डोल्पा वितरण केन्द्रसँग समन्वय गरी चाँडै मर्मत गरेर टावर सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए।

केसीका अनुसार फोरजी सेवा जडान गरेपछि सोलार प्रणालीले काम नगर्दा समस्या देखिएको हो। उनले केही समयका लागि फोरजी सेवा बन्द गरेर भए पनि फोन सेवाका लागि टुजी सञ्चालन गर्ने तयारी भइरहेको बताए।

उनले भने, ‘पहिला टावर ठीकै थियो। केही समयअघि उक्त टावरमा फोरजी सेवा जडान गरेपछि सोलारले काम नगर्दा समस्या भएको हो। अब केही समयका लागि फोरजी सेवा बन्द गरेर फोन सेवाका लागि भए पनि टुजी सेवा सञ्चालन गर्नेछौँ।’

दुर्गम बस्ती आधारभूत सञ्चार सेवाबाटै वञ्चित

सरकारले विकसित सहरहरूमा निःशुल्क वाइफाइ सेवा विस्तार गर्ने घोषणा गरिरहँदा दुर्गम कर्णालीका बस्ती भने आधारभूत सञ्चार सेवाबाटै वञ्चित रहेको स्थानीयको गुनासो छ।

टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा शिक्षा, स्वास्थ्य, सुरक्षा, प्रशासनिक सेवा तथा आफन्तसँगको सम्पर्कसमेत प्रभावित भएको उनीहरूको भनाइ छ। लामो समयदेखि सञ्चार सेवाबाट वञ्चित स्थानीयले सम्बन्धित निकायसँग तत्काल टावर मर्मत गरी सेवा नियमित गर्न माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

सरकारलाई लक्ष्यबाट बाहिर जान दिँदैनौँ : रवि लामिछाने

२४ साउन, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम नगरे राजनी...
कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

कालोबजारी नियन्त्रण गर्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइए

२४ साउन, काठमाडौं — काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालय...
फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

फोरजी जडानपछि बिग्रियो नेटवर्क, एक महिनादेखि सञ्चारविहीन डोल्पाका बस्ती

२४ साउन, डोल्पा — हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका दुई वडा करिब एक महिनादेखि सञ्चार सेवाबाट वञ्चित भएका छन्। ने...
दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

दुई रोपनीभन्दा कममा गाँजा खेती गर्न नपाइने

२२ साउन, काठमाडौं — गण्डकी प्रदेशमा औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिइएपछि यसै वर्षदेखि व्यवसायिक ...