धवलागिरि आरोहणको ६६ वर्ष, म्याग्दीमा विशेष समारोह

३० वैशाख, काठमाडौं — धवलागिरि हिमालको पहिलो सफल आरोहण भएको ६६ वर्ष पुगेको अवसरमा म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा आरोहण दिवस मनाइएको छ।

ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) गण्डकीले बुधबार धवलागिरि हिमाल रहेको क्षेत्रमा विशेष कार्यक्रम आयोजना गरेर दिवस मनाएको हो।

संसारका ८ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ अग्लो धवलागिरि हिमालको उचाइ ८,१६७ मिटर रहेको छ। यो हिमाल पहिलोपटक सन् १९६० मे १३ मा स्विस–अस्ट्रियन संयुक्त टोलीले सफलतापूर्वक आरोहण गरेको थियो।

म्याक्स आइसेलिनको नेतृत्वमा गएको उक्त टोलीमा नेपाली आरोही निमा दोर्जी शेर्पा र ङवाङ्ग दोर्जी शेर्पासहित सात जना सदस्य सहभागी थिए।

आरोहण दिवस कार्यक्रममा गण्डकी प्रदेशकी उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले धवलागिरि लगायत प्रदेशका हिमालहरूको अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न सके पर्यटन वृद्धि भई स्थानीयको जीवनस्तर सुधार हुने बताइन्। उनले हिमाल र वातावरण संरक्षणमा स्थानीय समुदायको भूमिका पनि महत्त्वपूर्ण रहेको उल्लेख गरिन्।

उनले जलवायु परिवर्तनको असर हिमालहरूमा देखिन थालेको भन्दै हिमालको अस्तित्व जोगिए मात्रै मानव सभ्यता सुरक्षित रहने बताइन्।

कार्यक्रममा वक्ताहरूले पदयात्रा मार्गमा मोटरबाटो पुगेपछि विदेशी पर्यटकको संख्या घट्दै गएको र धवलागिरि सर्किटमा आवश्यक पूर्वाधारको कमी रहेको भन्दै चिन्ता व्यक्त गरेका थिए।

प्रदेश सांसद रेशम जुग्जालीले ग्रामीण क्षेत्रमा सडक विस्तार जनताको आवश्यकता भए पनि वैकल्पिक पदयात्रा मार्गको विकास गर्न आवश्यक रहेको बताए। उनले धवलागिरि गाउँपालिकामा आन्तरिक पर्यटक आकर्षित गर्ने योजना बनाउनुपर्नेमा जोड दिए।

उनले अन्नपूर्ण क्षेत्रमा जस्तै धवलागिरिमा पनि संरक्षण क्षेत्र आवश्यक रहेको बताए। तर, संरक्षणका नाममा स्थानीयलाई प्राकृतिक स्रोतसाधन प्रयोग गर्नबाट वञ्चित गरिने हो कि भन्ने चिन्ता स्थानीयमा रहेको उनले उल्लेख गरे।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले धवलागिरि सर्किटमा पूर्वाधार विकासका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए।

धवलागिरि गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले धवलागिरि सर्किटसँगै गुर्जा–डोल्पा रूट तथा ढोरपाटन शिकार आरक्ष जोड्ने पदमार्गको विकास र प्रवर्द्धन गर्नुपर्ने बताए।

नेपाल पर्यटन बोर्ड पोखरा कार्यालय प्रमुख मणिराज लामिछानेले धवलागिरिको महत्त्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न आवश्यक रहेको बताए।

पोखरा पर्यटन परिषद्का उपाध्यक्ष हरि भुजेलले हिमाल आरोहण क्षेत्रमा स्थानीय समुदायले पनि सक्रिय भूमिका लिनुपर्ने सुझाव दिए।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख रविन कडरियाले एक्यापकै मोडेलमा धवलागिरि संरक्षण क्षेत्र विकास गर्न सके यहाँ पर्यटनको ठूलो सम्भावना रहेको बताए।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले नयाँ पदमार्ग विकास गरेर धवलागिरिमा पर्यटक भित्र्याउनुपर्ने बताए।

यस अवसरमा टान गण्डकीले पर्वतीय पर्यटन अभियन्ता कृष्ण केसीलाई सम्मान पनि गरेको थियो।

टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले धवलागिरिलाई एक्यापको मोडेलमा विकास गर्न सकिने बताए। उनले आवश्यक परिमार्जनसहित डीक्याप घोषणा गरेर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी पर्यटन गतिविधि अघि बढाउनुपर्ने धारणा राखे।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

११ जेठ, काठमाडौं — मधेश प्रदेशमा आइतबार सरकार विस्तार गर्ने तयारी भए पनि सत्ता गठबन्धनभित्रको विवादका कारण प्रक्रिया अन्तिम समयमा ...
अध्यादेशबाट हटाइएका पदाधिकारी पुनः निमित्त नियुक्त

अध्यादेशबाट हटाइएका पदाधिकारी पुनः निमित्त नियुक्त

१० जेठ, काठमाडौं — सरकारले अध्यादेशमार्फत पदमुक्त गरिएका विश्वविद्यालयका पदाधिकारीलाई पुनः निमित्तको जिम्मेवारी दिएर कामकाजमा खटाउ...
रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

१० जेठ, काठमाडौं — पाकिस्तानको क्वेटास्थित चमन गेट नजिक रेलवे ट्र्याकमा भएको विस्फोटमा परी २० जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी...
विदेशी सम्बन्धन प्राप्त कलेजलाई व्यवस्थित गर्न सरकारको तयारी

विदेशी सम्बन्धन प्राप्त कलेजलाई व्यवस्थित गर्न सरकारको तयारी

१० जेठ, काठमाडौं — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजहरूलाई व्यवस्थित र प्रभाव...