पहिरो नियन्त्रणका लागि बल्ल टेन्डर प्रक्रिया सुरु

२९ वैशाख, काठमाडौं — नारायणगढ–मुग्लिन सडक भएर काठमाडौं वा पोखरा यात्रा गर्नेहरूका लागि मुग्लिन नजिकको तुइनखोला पहिरो वर्षायाममा ठूलो समस्या बन्दै आएको छ । पछिल्ला दुई–तीन वर्षदेखि बर्खामा पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुने र यात्रुहरूले सास्ती भोग्ने गरेका छन् ।

सुक्खा मौसममा पहिरो कम खस्ने भएकाले नियन्त्रणको काम पनि सुस्त हुने गरेको छ । तर लगातार वर्षा सुरु भएपछि तुइनखोलाको पहिरोले सडक बन्द गराउने समस्या दोहोरिने गरेको छ ।

यस वर्ष पनि पहिरो खस्न थालेपछि मात्रै पहिरो नियन्त्रणका लागि टेन्डर प्रक्रिया अघि बढाइएको छ । वैशाख २० गते बिहान सुक्खा पहिरो खसेपछि सडकमा केही समय एकतर्फी मात्रै सवारी सञ्चालन गरिएको थियो । त्यसैगरी वैशाख २४ गते पनि पहिरोका कारण सडक केहीबेर अवरुद्ध बनेको थियो ।

उक्त दिन तुइनखोलाबाट खसेको ढुंगा गुडिरहेको कारको इन्धन ट्यांकीमा लाग्दा कारमा आगलागी भएको थियो । आगो तत्काल नियन्त्रणमा लिएकाले मानवीय क्षति नभएको चितवन प्रहरीले जनाएको छ ।

त्यसको भोलिपल्ट वैशाख २५ गते बिहान फेरि पहिरो खस्दा सडक दुवैतर्फ बन्द भयो । सोही दिन भरतपुरस्थित डिभिजन सडक कार्यालयले तुइनखोला र नजिकैको नाम्सी खोलामा पहिरो नियन्त्रणका लागि टेन्डर आह्वान गरेको हो ।

डिभिजन सडक कार्यालयका अनुसार तत्काल तुइनखोला र नाम्सी खोलाको मुग्लिनतर्फको भागमा काम सुरु गर्ने तयारी गरिएको छ । नाम्सी खोलाको भरतपुरतर्फ र कालीखोलामा पनि छिट्टै टेन्डर निकालिने बताइएको छ । यी चार स्थानमा पहिरो नियन्त्रणका लागि करिब ४३ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

तुइनखोलामा करिब १०५ मिटर माथिबाट ढुंगा र पहिरो झर्ने गरेको छ । माथिबाट खस्ने साना ढुंगासमेत तल गुडिरहेका सवारीसाधनका लागि ठूलो जोखिम बन्ने गरेका छन् । बेलाबेला ठूलो पहिरो खस्दा सडक घण्टौं बन्द हुने र यात्रुहरूले सास्ती खेप्ने अवस्था रहेको छ ।

डिभिजन सडक कार्यालयका इन्जिनियर कृष्ण आचार्यका अनुसार टेन्डर प्रक्रिया पूरा गरी निर्माण कम्पनीसँग असार १५ गतेतिर मात्रै सम्झौता हुनसक्नेछ । मनसुन सुरु हुने भएकाले वर्षाको समयमा काम गर्न सहज हुन्छ वा हुँदैन भन्ने अहिले नै निश्चित नभएको उनले बताए ।

पहिरो रोकथामका लागि रक एंकरिङ र रक नेटिङ प्रविधि प्रयोग गरिनेछ । इन्जिनियर अर्जुन घिमिरेका अनुसार कमजोर चट्टानलाई बलियो रडमार्फत भित्रसम्म मजबुत बनाइनेछ, जसले थप पहिरो खस्नबाट रोक्नेछ । साथै साना ढुंगा झर्न नदिन विशेष प्रकारका जाली प्रयोग गरिनेछन् । केही जालीमा बिरुवा समेत रोपिने योजना छ, जसले भविष्यमा पहिरो नियन्त्रणमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।

नारायणगढ–मुग्लिन सडक दैनिक १२ हजारभन्दा बढी सवारी चल्ने देशकै अत्यन्त व्यस्त सडक मानिन्छ । यही सडकले काठमाडौं र पोखरालाई पूर्व तथा पश्चिम नेपालसँग जोड्ने मुख्य मार्गको काम गर्दै आएको छ ।

लगातार पहिरो खस्दा तुइनखोला क्षेत्रको पहाड नांगो बन्दै गएको छ । करिब १६५ मिटर लामो पहिरो क्षेत्र वर्षायाममा अझ बढी जोखिमपूर्ण बन्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

११ जेठ, काठमाडौं — मधेश प्रदेशमा आइतबार सरकार विस्तार गर्ने तयारी भए पनि सत्ता गठबन्धनभित्रको विवादका कारण प्रक्रिया अन्तिम समयमा ...
अध्यादेशबाट हटाइएका पदाधिकारी पुनः निमित्त नियुक्त

अध्यादेशबाट हटाइएका पदाधिकारी पुनः निमित्त नियुक्त

१० जेठ, काठमाडौं — सरकारले अध्यादेशमार्फत पदमुक्त गरिएका विश्वविद्यालयका पदाधिकारीलाई पुनः निमित्तको जिम्मेवारी दिएर कामकाजमा खटाउ...
रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

१० जेठ, काठमाडौं — पाकिस्तानको क्वेटास्थित चमन गेट नजिक रेलवे ट्र्याकमा भएको विस्फोटमा परी २० जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी...
विदेशी सम्बन्धन प्राप्त कलेजलाई व्यवस्थित गर्न सरकारको तयारी

विदेशी सम्बन्धन प्राप्त कलेजलाई व्यवस्थित गर्न सरकारको तयारी

१० जेठ, काठमाडौं — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजहरूलाई व्यवस्थित र प्रभाव...