१३ साउन, काठमाडौं — नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरी घटनापछि सरकारले सबै राजनीतिक दललाई समेटेर पहल नगरेको भन्दै प्रधानमन्त्री बालेन शाहको भूमिकामाथि प्रश्न उठाएका छन्।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा बोल्दै थापाले वर्तमान परिस्थितिमा सरकारले नेतृत्वदायी भूमिका खेल्न नसकेको टिप्पणी गरेका हुन्।
उनले सर्वदलीय बैठक आयोजना गरेकोमा रास्वपा सभापति रवि लामिछानेलाई धन्यवाद दिँदै सरकारको भूमिकाबारे प्रश्न पनि उठाए।
थापाले भने, “सरकार अहिले के गरिरहेको छ? सरकार कहाँ छ? सरकार केवल गोली, लाठी र सामाजिक सञ्जालका स्टाटसमै सीमित हुने हो? सरकार अभिभावक मात्र होइन, नेतृत्वकर्ता पनि हो। उसले अरूलाई विश्वासमा लिन सक्नुपर्छ, तब मात्र सरकारले पनि विश्वास पाउँछ।”
उनले प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाएर सबै पक्षसँग संवाद गर्नुपर्ने आवश्यकता औंल्याए।
“यस्तो अवस्थामा प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउने, राष्ट्रपति भेट्ने, प्रदेश र स्थानीय सरकारसँग संवाद गर्ने र आफूले गरेका प्रयासबारे जानकारी गराउने काम गर्नुपर्थ्यो। साझा प्रयासको आधार तयार गर्नुपर्थ्यो। भूकम्प र कोरोना महामारीका बेला पनि राजनीतिक मतभेद हुँदाहुँदै सबै दलका नेताहरू सिंहदरबारमा भेला भएका थिए। त्यो नै नेपालको राजनीतिक संस्कार हो,” उनले भने।
सुनसरी घटनाबारे कांग्रेसका सांसदहरूले संसदमा आवाज उठाउने र घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा पनि उनले जोड दिए।
थापाले भने, “कसैलाई दोष दिएर मात्र समस्या समाधान हुँदैन। यो राज्यको असफलताको निरन्तरता हो। मधेसमा यस्ता घटना हुँदा अत्यधिक बल प्रयोग हुने गरेको छ, जुन विगतमा पनि गलत थियो र अहिले पनि गलत नै हो।”
प्रधानमन्त्रीको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै उनले भने, “यस्तो बेलामा पनि प्रधानमन्त्री भाउ खाएर बस्ने? ठालु भएर बस्ने? सबैलाई जोड्ने प्रयास गर्नुपर्दैन? प्रधानमन्त्रीले सबैलाई समेटेर अघि बढ्नुपर्छ भन्ने हाम्रो धारणा हो। त्यसो गर्नुस्, हामी सरकारलाई सहयोग गर्न तयार छौं।”
थापाले सामाजिक सद्भाव कायम गर्न नेपाली कांग्रेसले आफ्नो भूमिका निर्वाह गर्दै आएको पनि बताए।
सुनसरीमा दुई पक्षबीच भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने घटनामा १२ जना घाइते भएका थिए।
सर्वदलीय बैठकमा आफ्नो धारणा राखेपछि थापा बैठकबाट बाहिरिएका थिए। वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनपछि बोलाइएको आकस्मिक केन्द्रीय समिति बैठकमा सहभागी हुनुपर्ने भएकाले आफू चाँडै निस्किएको उनले बताएका छन्।



