रवि,बालेन्द्र र कुलमानको एकता: जेन–जीसँग समझदारीको गृहकार्य सुरु

१५ पुस, काठमाडौं — वैकल्पिक राजनीतिमा सक्रिय तीन प्रमुख शक्ति अब एउटै दल र एउटै चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच सहमति भएको भोलिपल्टै ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी पनि एकतामा समाहित भएको हो।

रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । उक्त हस्ताक्षरमा बालेन्द्र साक्षी बनेका थिए भने कुलमान घिसिङ पनि उपस्थित थिए ।

सहमतिपत्रअनुसार पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै कायम रहनेछ । झन्डा र चुनाव चिह्न पनि रास्वपाकै रहने उल्लेख छ । सभापति रवि लामिछाने नै रहने र उपसभापतिमा कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने सहमति भएको छ ।

उज्यालो नेपाल अभियानलाई समेट्दै पार्टीको संगठनात्मक संरचना अझ सबल र व्यापक बनाइने सहमतिपत्रमा उल्लेख छ । त्यसका लागि उज्यालो नेपाल पार्टीका युवा अभियन्ता र अनुभवी विज्ञलाई उपयुक्त रूपमा समायोजन गरिने र जिम्मेवारी बाँड्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार बनाइने भनिएको छ ।

सहमतिपत्रमा स्पष्ट उल्लेख नभए पनि केन्द्रीय समिति तथा आउँदो प्रतिनिधिसभा निर्वाचनमा कुलमान पक्षलाई करिब १७ प्रतिशत हिस्सा दिने समझदारी भएको नेताहरूले बताएका छन् । सोहीअनुसार समानुपातिक निर्वाचनतर्फ कुलमान पक्षबाट १८ जना उम्मेदवारको सूची तयार गरिएको छ । पार्टी पदाधिकारी र केन्द्रीय समितिमा पनि सोही अनुपातमा व्यवस्थापन गर्ने सहमति भएको कुलमाननिकट एक नेताले जानकारी दिए ।

रवि, बालेन्द्र र कुलमानबीच यसअघि पटक–पटक छलफल भए पनि शक्ति बाँडफाँटमा सहमति जुट्न सकेको थिएन । रास्वपा र बालेन्द्रबीच एकताको सहमति भइसकेपछि पनि तीन नेता आइतबार मध्यरातसम्म संवादमा जुटेका थिए । काठमाडौं महानगरपालिकाको कार्यालयमा भएको उक्त छलफल पनि तत्काल निष्कर्षमा पुग्न सकेको थिएन ।

वार्तामा सहभागी स्रोतका अनुसार रास्वपाले कुलमानलाई पार्टी संरचना र प्रत्यक्ष तथा समानुपातिकतर्फ १० प्रतिशत हिस्सा दिने प्रस्ताव गरेको थियो । तर कुलमानले ३० प्रतिशतको माग राख्दै सम्मानजनक सहभागितामा जोड दिएका थिए । रवि र बालेन्द्रसँग संवाद जारी रहँदा कुलमानले कार्यकारी भूमिकामा समेत दाबी गरेका थिए ।

रास्वपाका एक नेताका अनुसार पछि अध्यक्षमण्डलको प्रस्तावसमेत आएको थियो । अन्ततः पदभन्दा म्यान्डेट महत्वपूर्ण हुने निष्कर्षमा पुग्दै सबै पक्ष केही लचक बनेपछि सहमतिको बाटो खुलेको थियो ।

रवि र बालेन्द्रसँग सहमति नजुट्ने संकेत देखिएपछि कुलमान सोमबार बिहानदेखि उज्यालो नेपाल पार्टीको तर्फबाट निर्वाचन आयोगमा बुझाउने समानुपातिक उम्मेदवारको बन्दसूची तयार गर्न जुटेका थिए । त्यसबीच ‘द काउन्सिल अफ जेन–जी’ का सुधन गुरुङ, जेम्स कार्की र ओजस्वी थापा कुलमानसँग भेट्न पुगेका थिए । उनीहरूले तीनै नेताबीच एकता आवश्यक रहेको भन्दै पुनः संवादमा बस्न आग्रह गरेका थिए ।

उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य सञ्जीव भट्टराईका अनुसार असहमतिका कारण दूरी बढेको भए पनि सबै एक भएर जानुपर्ने धारणा दुवै पक्षमा थियो । आइतबार राति साढे २ बजेसम्म कुलमानको निवासमै छलफल भएको उनले बताए ।

सोमबार दिउँसो सुधन गुरुङ स्वयं कुलमानलाई लिएर कमलपोखरीस्थित रास्वपा नेता असिम शाहको कार्यालय पुगे । त्यहाँ रवि र बालेन्द्रसँग भएको छलफलपछि अन्ततः सहमति जुटेको हो । भट्टराईका अनुसार जेन–जीका अगुवाहरूले एकतामा महत्वपूर्ण भूमिका खेलेका थिए ।

सहमतिपछि मेयर बालेन्द्रले जेन–जी अगुवा रिजन राना मगरसँग छोटो संवाद गर्दै जेन–जीको चाहनाअनुसार समाधान खोज्ने प्रयास गरेको बताए ।

जेन–जी समूहले सहमतिप्रति खुशी व्यक्त गर्दै आन्दोलनको म्यान्डेट पालना हुने गरी रास्वपाका शीर्ष नेताहरूसँग थप लिखित समझदारीको तयारी गरिरहेको जनाएको छ । नेपाल जेन–जी फ्रन्टकी संयोजक रक्षा बमका अनुसार मंगलबार दुवै पक्षबाट वार्ता टोली गठन गरी छलफल गर्ने सहमति भएको छ । उम्मेदवार चयनदेखि पार्टी संरचनामा सहभागितासम्म सुनिश्चित गर्नुपर्ने विषयमा छलफल भइरहेको उनले बताइन् ।

रास्वपा सभापति रवि लामिछानेले जेन–जी आन्दोलनको भावनालाई गहिरो रूपमा आत्मसात गरेको बताएका छन् । आन्दोलनमा घाइते र सहिद भएका युवाको बलिदान खेर जान नदिने प्रतिबद्धता उनले व्यक्त गरेको बमले बताइन् । रविले पार्टी अहिले बलियो शक्ति बनिसकेको उल्लेख गर्दै केही जेन–जी अभियन्तालाई प्रतिपक्षी भूमिकामा रहन आग्रहसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

भृकुटीमण्डपमा मोबिलिटीको महाकुम्भ, ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक हुँदै

भृकुटीमण्डपमा मोबिलिटीको महाकुम्भ, ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक हुँदै

२६ साउन, काठमाडौं — नेपाल अटो मोबाइल इम्पोर्टस एन्ड म्यानिफ्यक्चरर्स एशोसिएसन (नाइमा)ले आयोजना गरेको दोस्रो संस्करणको नाइमा नेपाल ...
प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

२६ साउन, काठमाडौं — प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्याल (डिपी)बीच भेटवार्ता...
म्याग्दीमा ढुङ्गासहितको सुक्खा पहिरो, एक बेपत्ता र एक घाइते

म्याग्दीमा ढुङ्गासहितको सुक्खा पहिरो, एक बेपत्ता र एक घाइते

२६ साउन, काठमाडौं — म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा आज बिहान पहिरो खस्द...
एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

२५ साउन, काठमाडौं — निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारको कार्यशैली र व्यावसायिक वातावरणप्रति गम्भीर...