विश्वासको वातावरण बनाएर सीमा विवाद टुंग्याउनुपर्छ : रवि लामिछाने

१९ जेठ, काठमाडौं — भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धमा विश्वासको वातावरण निर्माणलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। सीमा विवादजस्ता विषयलाई अनिश्चितकालसम्म लम्ब्याउनु दुवै देशका लागि हितकर नहुने उनको भनाइ छ।

भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्स मा मंगलबार प्रकाशित लेखमा लामिछानेले चुनावी लाभका लागि उग्र राष्ट्रवादी भावना भड्काउने पुरानो राजनीतिक प्रवृत्तिको आलोचना गरेका छन्। उनले ऐतिहासिक तथ्य, प्रमाण र आपसी समझदारीका आधारमा विवाद समाधान गर्नुपर्ने धारणा राखेका छन्।

‘हामी विगतका कटुताको भारी बोकेर हिँडिरहेका छैनौं। हाम्रो एकमात्र एजेन्डा नेपालको आर्थिक रूपान्तरण हो,’ उनले लेखमा उल्लेख गरेका छन्।

लामिछानेले नेपाल–भारत सम्बन्धलाई परम्परागत राजनीतिक तथा भूराजनीतिक विवादको घेराबाट बाहिर निकालेर विकास, लगानी र आर्थिक साझेदारीतर्फ केन्द्रित गर्नुपर्ने बताएका छन्। उनले नेपालमा पछिल्ला वर्षहरूमा आएको राजनीतिक परिवर्तनलाई ‘मतपेटिकामार्फत भएको शान्तिपूर्ण क्रान्ति’को संज्ञा दिएका छन्।

रास्वपाको उदयलाई नेपालको नयाँ राजनीतिक यथार्थका रूपमा व्याख्या गर्दै उनले पुराना दलहरूप्रति बढेको अविश्वास र जनअसन्तुष्टिको विकल्पका रूपमा आफ्नो पार्टी स्थापित भएको दाबी गरेका छन्।

नेपाल र भारतलाई केवल दुई छिमेकी राष्ट्र नभई साझा सभ्यता, संस्कृति र इतिहासले जोडिएका साझेदारका रूपमा चित्रण गर्दै उनले जनकपुर–अयोध्या, पशुपतिनाथ–केदारनाथ तथा लुम्बिनी–बोधगयाबीचको सम्बन्धले दुई देशको सांस्कृतिक निकटता झल्काउने बताएका छन्।

लेखमा उनले नेपाल–भारत सहकार्यका विभिन्न प्रस्ताव पनि अघि सारेका छन्। १५० किलोमिटर लामो प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्ग निर्माण भए व्यापार, पर्यटन र जनस्तरको सम्पर्कमा ठूलो परिवर्तन आउने उनको विश्वास छ। साथै पोखरा र लुम्बिनीबाट दिल्ली, मुम्बई तथा बेंगलुरुसम्म सिधा हवाई उडान सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन्।

शिक्षा र स्वास्थ्य क्षेत्रमा भारतका प्रतिष्ठित संस्थान आईआईटी र एम्सजस्ता संस्था नेपालमा स्थापना गर्न सहकार्य आवश्यक रहेको उनले उल्लेख गरेका छन्। प्रविधि क्षेत्रमा काठमाडौं–बेंगलुरु डिजिटल करिडोर, प्रविधि प्रयोगशाला, स्टार्टअप इन्क्युबेसन सेन्टर, फिनटेक तथा डिजिटल भुक्तानी प्रणालीमा साझेदारी गर्न पनि उनले भारतलाई आग्रह गरेका छन्।

नेपालको विशाल जलविद्युत् सम्भावना भारतको औद्योगिक विकासका लागि स्वच्छ ऊर्जाको भरपर्दो स्रोत बन्न सक्ने उल्लेख गर्दै लामिछानेले एकीकृत ऊर्जा बजार निर्माणमा जोड दिएका छन्। त्यस्तै, सीमाक्षेत्रका प्रशासनिक अवरोध हटाई आधुनिक डिजिटल एकीकृत जाँच चौकी (आईसीपी) स्थापना गर्नुपर्ने प्रस्ताव पनि गरेका छन्।

पर्यटन प्रवर्द्धनका लागि जनकपुर, लुम्बिनी र बोधगयालाई जोड्ने धार्मिक तथा सांस्कृतिक पर्यटन सर्किट विकास गर्नुपर्ने धारणा उनले व्यक्त गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

भृकुटीमण्डपमा मोबिलिटीको महाकुम्भ, ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक हुँदै

भृकुटीमण्डपमा मोबिलिटीको महाकुम्भ, ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक हुँदै

२६ साउन, काठमाडौं — नेपाल अटो मोबाइल इम्पोर्टस एन्ड म्यानिफ्यक्चरर्स एशोसिएसन (नाइमा)ले आयोजना गरेको दोस्रो संस्करणको नाइमा नेपाल ...
प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

प्रतिनिधिसभा बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

२६ साउन, काठमाडौं — प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्याल (डिपी)बीच भेटवार्ता...
म्याग्दीमा ढुङ्गासहितको सुक्खा पहिरो, एक बेपत्ता र एक घाइते

म्याग्दीमा ढुङ्गासहितको सुक्खा पहिरो, एक बेपत्ता र एक घाइते

२६ साउन, काठमाडौं — म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा आज बिहान पहिरो खस्द...
एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

एनसेलको सरकारसँग गुनासो : ‘नेपालीले नै यत्रो कम्पनी चलाउँदा गर्व हुनुपर्नेमा उल्टै दोषी जस्तो बनाइयो’

२५ साउन, काठमाडौं — निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारको कार्यशैली र व्यावसायिक वातावरणप्रति गम्भीर...