२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावकारी उपस्थिति रहने दाबी गरेका छन् । शुक्रबार आफ्नो मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खरेलले यस्तो अनुमान व्यक्त गरेका हुन् ।
फागुन २१ गते निर्वाचन हुने उल्लेख गर्दै उनले भने, “चुनावपछि एउटा कुरा स्पष्ट हुन्छ—अहिले सबै दलले युवाहरूका लागि कोटा तोकेका छन् । यही नै आशाको विषय हो । म आधारहीन कुरा गरिरहेको छैन । यसपटक संसद् वा सरकार जुनसुकै पार्टीबाट बने पनि युवाहरूको वर्चश्व रहने निश्चित छ ।”
मन्त्री खरेलले तोकिएको मितिमै निर्वाचन सम्पन्न हुने र त्यसपछि बन्ने संसद् तथा सरकारमा युवाहरूको सशक्त उपस्थिति रहने भएकाले सूचना प्रविधि क्षेत्रको विकासमा त्यसले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनका अनुसार संसद् र सरकार दुवैमा युवाहरूको अग्रसरता हुनु मुलुकका लागि सकारात्मक संकेत हो ।
“युवाहरूको वर्चश्व हुनु यो विभागका लागि पनि खुशीको कुरा हो । संसद्को समितिमा होस् वा सरकारमै, अब नेपाल बनाउन आईसीटीतर्फ अघि बढ्नैपर्छ भन्ने आवाज उठ्छ,” उनले भने, “म मन्त्रीको हैसियतले तपाईंहरूसँग काम गर्ने अवधिसम्म कुनै पनि काम अनावश्यक रूपमा रोकिँदैन । अड्किएर काम अगाडि बढ्दैन, त्यसैले यहाँबाट हुने सबै पहलमा मेरो सहमति रहनेछ ।”



