८ जेठ, काठमाडौं — कैलालीको टीकापुरमा तालिमका क्रममा बेहोस भएका सशस्त्र प्रहरीका जवानमध्ये ६ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइँदै गरिएको छ ।
सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार नेपाली सेनाको स्काई ट्रकमार्फत उनीहरूलाई दिउँसो करिब पौन २ बजे काठमाडौं ल्याउने तयारी गरिएको हो ।
यसअघि ती जवानहरूलाई कैलालीबाट सुर्खेत लगिएको थियो ।
सशस्त्र प्रहरीका अनुसार टीकापुरस्थित राजश्व, भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा तालिमको क्रममा उनीहरू बेहोस भएका थिए ।
उक्त घटनामा कुल ८ जना जवान बेहोस भएका थिए । बेहोस हुनेहरूमा बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन् ।
उनीहरूमध्ये ६ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइँदै गरिएको छ ।



