२६ असार, काठमाडौं — फ्रान्सका कप्तान किलियन एमबाप्पे फिफा विश्वकपमा सबैभन्दा छिटो २० गोल पूरा गर्ने खेलाडी बनेका छन्। साथै, उनी विश्वकप इतिहासमा २० गोल गर्ने सबैभन्दा कान्छा खेलाडी पनि बनेका छन्।
उत्तर अमेरिकामा भइरहेको २३औँ संस्करणको फिफा विश्वकपमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले लगातार विभिन्न कीर्तिमान बनाइरहेका बेला एमबाप्पेले पनि आफ्नो नाममा महत्वपूर्ण उपलब्धि थपिरहेका छन्।
क्वाटरफाइनलमा मोरक्कोविरुद्ध फ्रान्सको २–० को जितमा एक गोल र एक असिस्ट गरेका एमबाप्पेले विश्वकपका थप कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्।
विश्वकपमा सर्वाधिक खेल, सर्वाधिक गोल, सर्वाधिक ६ पटक असिस्ट गर्ने खेलाडीलगायतका कीर्तिमान मेसीको नाममा रहँदा उनको चर्चा बढी भइरहेको छ। तर एमबाप्पेले केवल तीन संस्करणको विश्वकप खेल्दै उल्लेखनीय उपलब्धि हासिल गरिसकेका छन्।
एमबाप्पे विश्वकपको नकआउट चरणमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। जारी विश्वकपमा उनले ८ गोल गरिसकेका छन् भने विश्वकपको नकआउट चरणमा उनको कुल गोल संख्या १२ पुगेको छ।
यसअघि नकआउट चरणमा ८–८ गोल गरेका ब्राजिलका लियोनिडास र रोनाल्डोलाई उनले पछि पारेका हुन्।
२७ वर्षको उमेरमै एमबाप्पेले विश्वकपमा २० गोल पूरा गरेका छन्। यसअघि मेसीले ३८ वर्षको उमेरमा उक्त उपलब्धि हासिल गरेका थिए।
त्यस्तै, मेसीले ३० खेलमा विश्वकपमा २० गोल पूरा गरेका थिए भने एमबाप्पेले २० खेलमै त्यो आँकडा पूरा गर्दै सबैभन्दा छिटो २० गोल गर्ने खेलाडीको कीर्तिमान बनाए।
जारी विश्वकपमा एमबाप्पे उत्कृष्ट लयमा देखिएका छन्। हालसम्म उनले तीन संस्करणको विश्वकप खेलेका छन्। यस अवधिमा एक पटक विश्वकप उपाधि जितेका छन् भने एक पटक सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट अवार्ड पनि जितिसकेका छन्।
एमबाप्पेको लक्ष्य फ्रान्सलाई लगातार तेस्रो पटक विश्वकपको फाइनलमा पुर्याउनु रहेको छ।
उनले फ्रान्सका लागि विश्वकपमा सर्वाधिक खेल खेल्ने ह्युगो लोरिसको कीर्तिमान पनि बराबरी गरेका छन्। दुवैले समान २० विश्वकप खेल खेलेका छन्। अब सेमिफाइनल खेलेसँगै एमबाप्पे फ्रान्सका लागि सबैभन्दा धेरै विश्वकप खेल्ने खेलाडी बन्नेछन्।
यसअघि नै उनी फ्रान्सका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनिसकेका छन्। साथै, यही विश्वकपमा उनले फ्रान्सका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन्। उनले फ्रान्सका लागि १०४ खेलमा ६४ गोल गरिसकेका छन्।
दुई संस्करणमा ८–८ गोल
एमबाप्पे विश्वकपका दुई फरक संस्करणमा ८ वा त्योभन्दा बढी गोल गर्ने पहिलो खेलाडी बनेका छन्।
सन् २०२२ मा कतारमा भएको विश्वकपमा उनले ८ गोल गर्दै पहिलो पटक गोल्डेन बुट जितेका थिए। त्यस प्रतियोगिताको फाइनलमा उनले ह्याट्रिक पनि गरेका थिए।
फ्रान्स फाइनलमा पराजित भए पनि एमबाप्पे व्यक्तिगत रूपमा सर्वाधिक गोलकर्ता बनेका थिए। उनले सन् २०१८ को विश्वकपमा डेब्यु गर्दै ४ गोल गरेका थिए। त्यसयता लगातार दुई संस्करणमा ८–८ गोल गर्दै नयाँ कीर्तिमान बनाएका हुन्।
यसअघि अर्जेन्टिनाका लियोनल मेसीले दुई फरक विश्वकपमा ७–७ गोल गर्ने कीर्तिमान बनाएका थिए।
जारी विश्वकपमा पनि एमबाप्पेले सेमिफाइनलसम्म ८ गोल गरिसकेका छन्। उनले समूह चरणमा नर्वेविरुद्ध बाहेक खेलेका पाँच खेलमा गोल गरेका छन्।
समूह चरणमा सेनेगल र इराकविरुद्ध २–२ गोल गरेका उनले राउन्ड अफ ३२ मा स्वीडेनविरुद्ध पनि दुई गोल गरे। त्यसपछि प्रिक्वाटरफाइनलमा पाराग्वेविरुद्ध पेनाल्टीमार्फत निर्णायक गोल गरे भने क्वाटरफाइनलमा मोरक्कोविरुद्ध पनि गोल गरेका छन्।
एमबाप्पे नकआउट चरणमा लगातार प्रभावशाली प्रदर्शन गर्दै आएका छन्। २७ वर्षको उमेरमै उनले विश्वकपमा गोलको वर्षा गर्दै थप कीर्तिमान बनाउने संकेत दिएका छन्।
लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको पुस्तापछि एमबाप्पे विश्व फुटबलका नयाँ सुपरस्टारका रूपमा स्थापित हुँदै गएका छन्। उनले अझै दुई संस्करण विश्वकप खेल्ने अवसर पाए धेरै कीर्तिमान तोड्ने सम्भावना देखिएको छ।
लगातार गोल्डेन बुट जित्लान्?
जारी विश्वकपमा एमबाप्पे उत्कृष्ट फर्ममा छन्। समूह चरणदेखि नै गोल गर्दै आएका उनले सेमिफाइनलसम्म पनि त्यो लय कायम राखेका छन्।
अर्जेन्टिनाका कप्तान लियोनल मेसीले पनि यस विश्वकपमा खेलेका सबै खेलमा गोल गरेका छन्। उनले पाँच खेलमा ८ गोल गरेका छन् र सर्वाधिक गोलकर्ताको सूचीमा एमबाप्पेसँगै छन्। मेसीले स्विट्जरल्यान्डविरुद्धको क्वाटरफाइनल खेल खेल्न बाँकी छ।
यस अवस्थाले गोल्डेन बुटका लागि मेसी र एमबाप्पेलाई मुख्य प्रतिस्पर्धी बनाएको छ। एमबाप्पेको नाममा ३ असिस्ट छ भने मेसीले १ असिस्ट गरेका छन्।
सर्वाधिक गोलकर्ताको सूचीमा तेस्रो स्थानमा रहेका नर्वेका स्ट्राइकर एर्लिङ हालान्डले ७ गोल गरेका छन्। तर उनले कुनै असिस्ट गरेका छैनन्।
यस्तै, इंग्ल्यान्डका कप्तान ह्यारी केनले ६ गोल र १ असिस्ट गरेका छन्। क्वाटरफाइनलमा इंग्ल्यान्ड र नर्वेबीच प्रतिस्पर्धा हुने भएकाले यी दुईमध्ये एक टोलीको यात्रा त्यहीँ समाप्त हुनेछ। त्यस खेलको विजेताले सेमिफाइनलमा अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको विजेतासँग खेल्नेछ।
यसरी मेसी, हालान्ड र केनमध्ये एक खेलाडी मात्रै फाइनल पुग्ने सम्भावना भएकाले गोल्डेन बुटको प्रतिस्पर्धा पनि थप रोचक बनेको छ।
यता फ्रान्स भने सेमिफाइनलमा पुगिसकेको छ। सेमिफाइनलमा पराजित भए पनि तेस्रो स्थानका लागि खेल हुने भएकाले एमबाप्पेले कम्तीमा दुई खेल अझै खेल्नेछन्। त्यसैले उनीसँग आफ्नो गोल संख्या थप बढाउने अवसर रहनेछ।



