३ भदौ, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको संसदीय दलको बैठकमा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका समस्या तथा सरकारको कामकारबाहीबारे प्रश्न उठाएका छन्। सांसदहरूले राखेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले बैठकमै जवाफ दिएका छन्।
बुधबार सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा सभापति लामिछानेको आह्वानमा सांसद तथा मन्त्रीहरूको उपस्थितिमा बैठक बसेको हो।
बैठकबारे जानकारी दिँदै रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले सांसदहरूले आफ्ना क्षेत्रका समस्या तथा आम जनताबाट आएका गुनासा बैठकमा राखेको बताए।
उनका अनुसार सांसदहरूले उठाएका विषयमा सम्बन्धित मन्त्रीहरूले पनि बैठकमै जवाफ दिएका थिए।
संसदीय दलको कार्यालय परिसरमा पत्रकारहरूसँग कुरा गर्दै पराजुलीले भने, ‘माननीय मन्त्रीज्यूले सबै विषयमा यी लगायत सबै विषयमा आफ्नो जानकारी दिइराख्नु भएको छ।’
बैठकमा सरकारको कामकारबाहीको पनि समीक्षा गरिएको उनले बताए। उनका अनुसार सरकारको काम भइरहेको भए पनि त्यसको जानकारी आम जनतासम्म प्रभावकारी रूपमा पुग्न नसकेको विषयमा छलफल भएको थियो।
बैठकमा उठेका विषयबारे पराजुलीले भने, ‘ल्याब्सेस कहाँ छ? ग्लिचेज कहाँ छ? सरकारले काम गरिराखेको छ भन्ने कुरा आम जनतामा किन पुर्याउन सकिएन?’
ग्यास आपूर्तिको विषयमा पनि बैठकमा छलफल भएको छ। पराजुलीका अनुसार वैशाखमा जम्मा २२ लाख सिलिन्डर ग्यास बजारमा पुगेकोमा साउनमा ४० लाख सिलिन्डर बजारमा पुगेका थिए। आपूर्ति बढे पनि ग्यास अभाव भइरहेको गुनासो किन आइरहेको छ भन्ने विषयमा प्रश्न उठेको उनले बताए।
ग्यास अभाव अन्त्य गर्न के गर्न सकिन्छ भन्ने विषयमा पनि बैठकमा छलफल भएको उनले जानकारी दिए।
यसैबीच, बुधबार बसेको अनौपचारिक बैठकले रास्वपा संसदीय दलको विधान संशोधन कार्यदल गठन गर्ने प्रक्रिया अघि बढाएको छ। मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो।
संसदीय दलका उपनेता पराजुलीका अनुसार कार्यदललाई आवश्यकताअनुसार विधान संशोधनको प्रस्ताव तयार गर्न सात दिनको समय दिइएको छ।
विधान संशोधनमा सांसदहरू सदनमा उपस्थित हुँदा संसद्को मर्यादा कायम गर्ने, आफ्नो जिम्मेवारी पूरा गर्ने, जनताको आवाज तथा विपक्षीका विषयलाई प्रभावकारी रूपमा उठाउने र कानुन निर्माण प्रक्रियामा थप सक्रिय हुने विषय समेटिनेछ।



