रास्वपाको बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित

३ भदौ, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक लम्बिएपछि प्रतिनिधिसभाको बैठक प्रभावित भएको छ।

रास्वपा सभापति रवि लामिछानेले पार्टीका सांसद तथा मन्त्रीहरूलाई एकै ठाउँमा राखेर संसदीय मर्यादा र शैलीबारे छलफल गरिरहेका छन्। सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बैठक जारी छ।

संसदीय दलको बैठकमा रास्वपा संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन शाह भने सहभागी छैनन्।

रास्वपाको बैठक जारी रहेकाले दिउँसो १ बजे बस्ने तय भएको प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन।

आजको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। त्यस्तै, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।

रास्वपा संसदीय दलले केही दिनअघि नै आफ्ना सांसदहरूलाई संसद् बैठकमा समयमै उपस्थित हुन निर्देशन दिएको थियो। तर, बुधबार आफ्नै संसदीय दलको बैठक लम्बिएपछि उक्त निर्देशन प्रभावित भएको छ।

रास्वपाले सांसदहरूको संसद् उपस्थितिलाई व्यवस्थित र जवाफदेही बनाउन गुगल फर्मसमेत तयार गरेको छ। निर्धारित समयभन्दा आधा घण्टाभन्दा ढिलो संसद् बैठकमा उपस्थित हुने सांसदले उक्त फर्म भर्नुपर्ने र अनुपस्थित हुनुको कारण तथा त्यसको प्रमाणसमेत अपलोड गर्नुपर्ने व्यवस्था गरिएको छ।

रास्वपा नेताहरूका अनुसार यो व्यवस्था मुख्यतः सांसदहरूलाई संसद् बैठकमा उपस्थितिका विषयमा थप जिम्मेवार र जवाफदेही बनाउन ल्याइएको हो। यसमार्फत बैठकमा अनुपस्थित हुनेदेखि उपस्थित भएर बीचमै बाहिरिने सांसदसम्मको विवरण एकीकृत गर्ने तयारी छ।

सांसदहरूको उपस्थितिलाई केवल हाजिरीका रूपमा नभई जिम्मेवारी र जवाफदेहितासँग जोड्न खोजिएको रास्वपा नेताहरूको भनाइ छ।

यसअघि २६ साउनमा बसेको प्रतिनिधिसभा बैठकमा गणपूरक संख्या नपुगेपछि बैठक नै स्थगित भएको थियो। त्यसका कारण सरकारी विधेयक अघि बढाउने प्रक्रिया पनि प्रभावित भएको थियो।

प्रतिनिधिसभामा रास्वपाका १८२ जना सांसद छन्। सदनको कामकारबाही सहज रूपमा अघि बढाउने मुख्य जिम्मेवारी सत्ता पक्षको हुन्छ। तर, २६ साउनको बैठकमा खानीसम्बन्धी विधेयक विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न आवश्यक ६९ जना सांसदको गणपूरक संख्या पनि पुगेको थिएन।

यही पृष्ठभूमिमा रास्वपाले आफ्ना सांसदहरूको गतिविधि र उपस्थितिलाई नियाल्न गुगल फर्मको व्यवस्था गरेको हो।

तर, बुधबार रास्वपा संसदीय दलकै बैठक लम्बिएपछि पार्टीले आफ्ना सांसदलाई दिएको समयमै संसद् उपस्थित हुने निर्देशन आफैँ प्रभावित भएको छ। निर्देशनअनुसार बुधबार संसद् बैठकमा ढिला उपस्थित भएका रास्वपाका सबै सांसदले गुगल फर्म भर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

वर्षाका कारण बाँसबारीमा भासियो साढे २ तले घर

वर्षाका कारण बाँसबारीमा भासियो साढे २ तले घर

५ भदौ, काठमाडौं — काठमाडौंको बाँसबारीमा साढे २ तले एउटा घर भासिएको छ । काठमाडौं महानगरपालिका–३ बाँसबारीस्थित उक्त घर बिहीबार बेलु...
बागमतीमा आज नयाँ सरकार, सरल सहयात्री आर्थिक मामिला मन्त्री बन्ने

बागमतीमा आज नयाँ सरकार, सरल सहयात्री आर्थिक मामिला मन्त्री बन्ने

४ भदौ, काठमाडौं — बागमती प्रदेशमा आज गठन हुने नयाँ सरकारमा नेकपाका नेता सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री बन्ने भ...
२०० वर्ष पुरानो चौतारा अतिक्रमण भएको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी

२०० वर्ष पुरानो चौतारा अतिक्रमण भएको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी

४ भदौ, काठमाडौं — जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हस्पिटल चोकमा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक सार्वजनिक ...
रविको बैठकमा सांसदले उठाए जनताका गुनासा, मन्त्रीले दिए जवाफ

रविको बैठकमा सांसदले उठाए जनताका गुनासा, मन्त्रीले दिए जवाफ

३ भदौ, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको संसदीय दलको बैठकमा सांसदहरूले आफ्ना निर्वाच...