५ जेठ, काठमाडौं — डा. मनोज शर्माको नाम प्रधानन्यायाधीश पदका लागि सर्वसम्मत रूपमा अनुमोदन भएको छ । मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम अनुमोदन गरेको हो ।
समितिले मंगलबार नै उनको सुनुवाइ प्रक्रिया सम्पन्न गरेको थियो । सुनुवाइ सकिएपछि समितिले प्रधानन्यायाधीश पदका लागि शर्माको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।
अब समितिबाट अनुमोदन भएपछि संसद् सचिवालयले यसबारे राष्ट्रपति कार्यालयलाई जानकारी पठाउनेछ । त्यसपछि उनको औपचारिक नियुक्ति प्रक्रिया अघि बढ्नेछ ।
यसअघि संवैधानिक परिषद्ले न्याय परिषद्बाट सिफारिस भएका ६ जनाको सूचीमध्ये सर्वोच्च अदालतका चौथो वरीयताका न्यायाधीश मनोज शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो ।
तर संवैधानिक परिषद्ले विगतदेखि चल्दै आएको वरिष्ठताको परम्परा तोड्दै शर्माको नाम सिफारिस गरेपछि न्यायालयको स्वतन्त्रता र निष्पक्षतामाथि प्रश्न उठेको भन्दै नेपाल बार लगायतका संस्थाहरूले विरोध गर्दै आएका छन् ।
सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल पनि प्रधानन्यायाधीश बन्ने अपेक्षामा रहेको बताइएको छ ।
यसैबीच सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर प्रधानमन्त्रीले चाहेको व्यक्तिलाई अनुमोदन गर्न सहज हुने व्यवस्था गरेको आरोप पनि लागेको छ ।
६ सदस्यीय संवैधानिक परिषद्मा तीन सदस्यको निर्णयले पनि निर्णय मान्य हुने व्यवस्था अध्यादेशमा समावेश गरिएको थियो । सोही अध्यादेश लागू भएपछि परिषद्को बैठक बसेर मनोज शर्माको नाम सिफारिस गरिएको थियो ।
शर्माको नाम सिफारिस गर्ने निर्णयमा प्रमुख विपक्षी दलका नेता भिष्मराज आङ्देम्बे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले असहमति जनाएका थिए ।
दुई सदस्यको असहमतिका बाबजुद पनि संवैधानिक परिषद्ले शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।



