६ मंसिर, काठमाडौं — नेपालले आज (आइतबार) यूएईविरुद्ध आफ्नो १००औं एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल खेल्दैछ। कतारमा जारी राइजिङ स्टार्स एसिया कपअन्तर्गतको यो खेल नेपाली क्रिकेटका लागि विशेष उपलब्धिका रूपमा रहनेछ।
नेपालले अहिलेसम्म सबैभन्दा बढी ओडीआई खेल यूएईसँग नै खेलेको छ। दुई टोलीबीच भएका २० खेलमध्ये नेपालले १२ खेलमा जित हासिल गरेको छ भने आठ खेलमा पराजय बेहोरेको छ। यूएईविरुद्ध नै नेपालले अहिलेसम्म सबैभन्दा धेरै जित र हार दुवै दर्ता गरेको छ।
नेपालले पछिल्लोपटक एसीसी प्रिमियर कपको फाइनलमा यूएईसँग प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा यूएईलाई हराउँदै नेपालले उपाधि जितेको थियो र एसिया कपमा स्थान सुरक्षित गरेको थियो।
सन् २०१८ मा ओडीआई मान्यता पाएपछि नेपालले अगस्ट १ मा नेदरल्यान्ड्सविरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको थियो। आफ्नो पहिलो ऐतिहासिक खेलमा भने नेपाल विजयी हुन सकेन। नेदरल्यान्ड्सले दिएको १९० रनको लक्ष्य पछ्याएको नेपाल १३४ रनमै अलआउट भएको थियो।
तर, त्यसको दुई दिनपछि अर्थात् अगस्ट ३ मा नेपालले दोस्रो ओडीआईमै पहिलो ऐतिहासिक जित निकाल्यो। नेदरल्यान्ड्सले दिएको २१६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाललाई अन्तिम ओभरमा जितका लागि ६ रन आवश्यक थियो। कप्तान पारस खड्काले अन्तिम ओभरमा ६ रन रक्षा गर्दै नेपाललाई एक रनको अविस्मरणीय जित दिलाएका थिए।
नेपालले हालसम्म खेलेका ९९ ओडीआईमध्ये ४९ खेलमा जित निकालेको छ। ४७ खेलमा पराजित भएको नेपालले एक खेल बराबरी खेलेको छ भने दुई खेलको नतिजा आउन सकेको छैन।
आजको खेलमा यूएईलाई पराजित गर्न सके नेपालले आफ्नो १००औं ओडीआईलाई ५०औं जितका साथ स्मरणीय बनाउन सक्नेछ।



