
८ जेठ, काठमाडौं – कान्तिपुर पब्लिकेशन्स अध्यक्ष कैलाश सिरोहियाले सहकारी ठगी प्रकरणविरुद्ध समाचार लेख्दा प्रतिशोधपूर्ण तरिकाले आफूलाई प्रहरीले प्रक्राउ गरेको बताएका छन् ।
प्रहरीले कान्तिपुरको थापाथलीस्थित कार्यकक्षबाट मंगलबार साँझ प्रक्राउ गरेपछि उनले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै सहकारी गठी गर्नेको नाममा पनि वारेन्ट जारी हुनेमा आफू विश्वस्त रहेको बताए ।
‘यो देशमा कानुन छ भने दुई वटा पासपोर्ट बोक्ने, सहकारी ठगीमा प्रमाणित भएको समाचार छ । मलाई गिरफ्तार गरिएको नागरिकताकाण्डमा होइन । सहकारीको ठगी काण्डको विरुद्ध समाचार लेखेकोमा हो,’ सिरोहियाले भने, ‘भोलि सहकारी ठगी गर्नेको नाममा पनि वारेन्ट जारी हुन्छ भन्नेमा म विश्वस्त छु ।’
सिरोहियाले सरकार र गृहमन्त्री रवि लामिछानेले नवअधिनायकवादी शैली देखाएको समेत बताए । ‘कुनै मान्छेलाई कुनै उजुरी पर्दैमा कार्यकक्षबाट प्रक्राउ गरिन्छ । तपाईं हामीले २०६२/२०६३ मा लडेर, ज्यानको बाजी लगाएर ल्याएको लोकतन्त्र/गणतन्त्र यही रहेछ भन्ने कुरा माननीय गृहमन्त्री ज्यूबाट थाहा भयो । कसैको उजुरी पर्दैमा गिरफ्तारी हुन्छ ? मलाई सोधपुछ हुँदैन ? त्यसो भए त माननीय गृहमन्त्री ज्यूको दुई वटा पासपोर्टको मुद्दा छ । यसलाई मेरो उजुरी मानेर भोलि वारेन्ट जारी हुन्छ भन्नेमा म विश्वस्त छु । उहाँको दुई वटा पासपोर्ट छ । महान्याधिवक्तालाई यो मुद्दा फिर्ता लिन अधिकार छैन,’ उनले भने ।
आफूमाथिको नागरिकता छानबिनको विषयमा राज्यलाई सहयोग गर्दा पनि गृहमन्त्रीविरुद्ध समाचार लेखेको प्रतिशोधको आधारमा प्रक्राउ गरिएको उनले दोहोर्याए । ‘ममाथिको छानबिनको कुरा छ । मैले भन्दै आएको थिएँ । म सघाउँछु । म यो देशको नागरिक हो । सबै कुरामा राज्यलाई सघाउँछु । तर हचुवाको भरमा नवअधिनायकवाद देखिएको छ । यो तपाईं हामी माथि र प्रेस स्वतन्त्रता माथिको कुठराघात हो । मलाई कार्यकक्षबाटै गिरफ्तार गरेर लगिँदै छ । यसका विरुद्ध म अन्तिम समयसम्म लडाईं लड्ने छु । तर यो देशमा कानुन छ भने दुई वटा पासपोर्ट बोक्ने, सहकारी ठगीमा प्रमाणित भएको समाचार छ ।’ उनले नागरिकता छानबिनको बहाना बनाएर सहकारी ठगीकाण्डविरुद्ध समाचार लेखेकोमा गिरफ्तार गरिएको प्रष्ट्याए ।



