१६ वैशाख, काठमाडौं — प्रमुख प्रतिपक्षीसहितका विभिन्न प्रतिपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई अध्यादेशहरू जारी नगर्न आग्रह गरेका छन्।
सरकारले संवैधानिक परिषदसहित ५ वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
यस विषयमा आज सिंहदरबारस्थित संसदीय दल कार्यालयमा बसेको प्रतिपक्षी दलहरूको बैठकले ती अध्यादेशहरू जारी नगर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको हो। बैठक नेपाली कांग्रेसका संसदीय दल नेता भीष्मराज आङ्देम्बेको आह्वानमा बसेको थियो।
बैठकमा कांग्रेसका नेता आङ्देम्बेसहित प्रमुख सचेतक बासना थापा, नेकपा एमालेका संसदीय दल नेता रामबहादुर थापा ‘बादल’, नेकपाका प्रमुख सचेतक युवराज दुलाल र राप्रपाकी सांसद सरस्वती लामा सहभागी थिए।
बैठकपछि आङ्देम्बेले भने, “राष्ट्रपतिसमक्ष सिफारिस भएका अध्यादेशहरू संसदलाई छल्ने उद्देश्यले ल्याइएका हुन्, त्यसैले ती स्वीकृत नगर्न हार्दिक अनुरोध गर्दछौं।”
प्रतिपक्षी दलहरूले स्थगित गरिएको संघीय संसदका दुवै सदनको अधिवेशन तुरुन्त बोलाउन पनि माग गरेका छन्।
आङ्देम्बेका अनुसार सरकारले वैशाख १४ गते संवैधानिक परिषद र सहकारीसम्बन्धी तथा वैशाख १५ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान, केही नेपाल कानुन संशोधन र विश्वविद्यालयसम्बन्धी अध्यादेशहरू राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
उनले संसद आह्वान गरिसकेपछि स्थगित गरेर अध्यादेश ल्याउनु असंसदीय र अलोकतान्त्रिक भएको भन्दै यसको कडा विरोध, भर्त्सना र निन्दा गरिएको बताए। साथै, ती अध्यादेशहरू फिर्ता लिन सरकारसँग माग गरिएको छ।
आजको बैठकमा श्रम संस्कृति पार्टीका प्रतिनिधि भने सहभागी भएनन्। यसबारे आङ्देम्बेले उपसभामुख बिरामी भएकाले सबै सांसद अस्पतालमा रहेको जानकारी आएको र अर्को बैठकमा सहभागी हुने बताएका छन्।




