८ मंसिर, काठमाडौं — भारतको उत्तर प्रदेशस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू–कमला एक्सप्रेस रेल आज बिहान जनकपुरधाम आइपुगेको छ।
जनकपुरधाम आइपुगेको रेल र त्यसमा सवार तीर्थयात्रीलाई सरकारी प्रतिनिधि तथा सर्वसाधारणले नेपाल र भारतका राष्ट्रिय झण्डा बोकेर स्वागत गरेका छन्। उनीहरूले तीर्थयात्रीलाई फूलमाला लगाएर पनि स्वागत गरेका थिए।
प्रधानमन्त्री बालेन्द्र शाहको राजकीय भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले सोमबार नयाँ दिल्लीबाट झण्डा देखाएर रेल सेवाको शुभारम्भ गरेपछि उक्त रेल अयोध्याबाट जनकपुरधामका लागि प्रस्थान गरेको थियो।
नेपाल–भारतबीचको रोटीबेटी सम्बन्धलाई थप मजबुत बनाउँदै दुई देशका धार्मिक स्थल जोड्ने उद्देश्यले जनकपुरधाम–अयोध्या रेल सेवा सुरु गरिएको हो।
नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार अयोध्याबाट जनकपुरधाम आइपुगेको रेल र त्यसमा सवार तीर्थयात्रीलाई रेल्वे स्टेसनसहित विभिन्न स्थानमा स्वागत गरिएको छ।
‘रेल्वे स्टेसनमा रेल र आउनुभएका तीर्थयात्रीलाई जनकपुरधामवासीसहित हामीले भव्य रूपमा स्वागत गरेका छौं। त्यसका लागि विभिन्न प्रबन्धसँगै यहाँ सांस्कृतिक कार्यक्रम पनि राखेका छौं,’ उनले भने।
उनका अनुसार स्वागत सत्कारपछि तीर्थयात्रीले जानकी मन्दिरलगायत धार्मिक स्थलमा पूजाआजा तथा दर्शन गर्नेछन्। जानकी मन्दिरका सहायक महन्त रामरोशन दासका अनुसार त्यहाँ आउने तीर्थयात्रीका लागि दर्शन तथा पूजाको व्यवस्था मिलाइएको छ। मन्दिरमा उनीहरूलाई स्वागतसमेत गरिने उनले बताए।
‘अयोध्याबाट आउनुभएका श्रद्धालुहरूलाई जानकी मन्दिरमा दर्शन–पूजाको व्यवस्थापनमा हामी जुटेका छौं। उहाँहरूलाई हामीले स्वागत पनि गर्छौं,’ उनले भने।
केही मन्दिरको दर्शन तथा अवलोकन गरेपछि तीर्थयात्री दिउँसो साढे १२ बजेसम्म रेल्वे स्टेसन फर्किनुपर्नेछ। स्टेसनमा उनीहरूलाई खाजा खुवाएर बिदाइ गर्ने कार्यक्रम रहेको प्रबन्ध सञ्चालक पराजुलीले बताए।
‘रेल दिउँसो १ बजेसम्म फर्किने समयतालिका छ। तीन घण्टाको अवधिमा यात्रुहरू जति सक्नुहुन्छ, जनकपुरधामको अवलोकन गरेर फेरि फर्किनुपर्ने हुन्छ,’ उनले भने।
जनकपुरधाम रेल्वे स्टेसन र जानकी मन्दिर क्षेत्रको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ।
पराजुलीका अनुसार सरयू–कमला एक्सप्रेसका १७ वटा डब्बामा एक हजारभन्दा बढी तीर्थयात्री जनकपुरधाम आइपुगेको अनुमान छ।




