१२ साउन, काठमाडौं — नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा मंगलबार उनको निधन भएको हो।
गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले पूर्वउपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठको निधन भएको पुष्टि गरेका छन्।
उनका अनुसार बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म गोपालमान श्रेष्ठको पार्थिव शरीर नेपाली कांग्रेसको पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ।
त्यसपछि शवयात्रासहित पार्थिव शरीरलाई पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरिने पूर्वमन्त्री मेखलाल श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्।
यसअघि कांग्रेस सभापति गगन थापाले साउन ७ गते गोपालमान श्रेष्ठलाई पार्टीको वरिष्ठ नेतामा मनोनीत गरिएको घोषणा गरेका थिए।



