कांग्रेसका हरेक क्रियाशील सदस्यले भोट हालेर सभापति चुन्ने व्यवस्था गर्नुपर्ने नेता प्रदीप पौडेलको प्रस्ताव

७ पुस, काठमाण्डौं – नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले दलहरूलाई दुई तिहाई बहुमत ल्याउन निर्वाचन प्रणाली फेर्नुपर्ने कुनै आवश्यकता नरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा कांग्रेसको वाग्मती प्रदेश सम्मेलनमा बोल्दै नेता पौडेलले कार्यशैलीमा सुधार भए बहुमत ल्याउन निर्वाचन प्रणाली बाधक नभएको बताए ।

‘बहुमत ल्याउनका लागि निर्वाचन प्रणालीले कुनै बाधा पुर्‍याएको छैन । यही निर्वाचन प्रणालीमा पनि बहुमत ल्याउन सकिन्छ,’ नेता पौडेलले अघि भने, ‘तर सरकारमा गएर राम्रो काम गर्नुपर्छ । यदि कांग्रेसले सम्हालेको सरकारले सबै खाले भ्रष्टाचारको अन्त्य गर्छ भने म ठोकुवा गरेर भन्छु, कांग्रेसले बहुमत ल्याउँछ ।’

सम्मेलनमा कांग्रेसकै नेताहरूले समानुपातिक निर्वाचन प्रणालीका कारण बहुमत आउने अवस्था नरहेको भनेपछि नेता पौडेलले समानुपातिक निर्वाचन प्रणाली कुनै पनि दलका लागि बहुमत ल्याउने बाधक नभएको बताएका हुन् ।

उनले सरकारका प्रधानमन्त्री र मन्त्रीले देश ठीकठाक चलिरहेको भनेर भन्नुको कुनै अर्थ नरहेको बताए । ‘देश ठीकठाक चलिरहेको छ भनेर अहिले प्रधानमन्त्री, मन्त्रीहरूले भनिरहनुभएको छ । अहिले भर्खरै मन्त्रीज्यूले सबै कुरा ठीक हुँदैछ भनेर भन्नुभयो,’ उनले अघि भने, ‘मन्त्रीज्यू, यदि सबै कुरा ठीकठाक चलिरहेको छ भने तपाईंले किन भन्नुहुन्छ, जनताले नै भनिहाल्छन् नि !’

सांसद पौडेलले कांग्रेसलाई सुधार गरेर अघि बढाउन पार्टीको विधानका व्यवस्थाहरूमा सुधार ल्याउनुपर्ने बताए । हरेक क्रियाशील सदस्यले भोट हालेर सभापति चुन्ने व्यवस्था गर्नुपर्ने उनको प्रस्ताव छ । ‘नेपाली कांग्रेस मास बेस्ड पार्टी हो, क्याडर बेस्ड पार्टी होइन । हामीले अब पार्टीलाई कस्तो बनाउने हो ? त्यसबारे छलफल गर्न ढिला भइसकेको हो जस्तो लाग्छ,’ उनले भने, ‘पार्टीलाई गुट र उपगुटले खण्डहर बनाएको छ, यदि हामीले यसलाई सुधारेर लैजाने हो भने हामीले पार्टीलाई मास बेस्ड पार्टीको रुपमा अघि बढाउनुपर्छ, त्यसकालागि पार्टीभित्रको गुटबन्दीलाई अन्त्य गर्नुपर्छ ।’

पौडेलले कांग्रेसले मान्दै आएको नीति सिद्धान्त र अभ्यासका आधारमा पनि कांग्रेस मास बेस्ड पार्टी हुन नसक्ने बताए । ‘मास बेस्ड पार्टी बनाउने हो भने सबै कुरा पार्टीका क्रियाशील सदस्यले गर्न पाउने व्यवस्था गर्नुपर्छ, किनभने अहिलेको प्रतिनिधिमुलक भोट गर्ने व्यवस्थाले पार्टीभित्र गुटबन्दी बढाएको छ,’ उनले भने, ‘तलदेखि माथिसम्म आफ्ना गुटका मान्छे निर्वाचित गरेर हामी सत्तामा पुग्ने खेल गरिरहेका छौँ । तर ८ लाख ६० हजार क्रियाशीलले भोट हालेर सभापति र महामन्त्री चुन्ने हो भने कसैले कसैलाई कानेखुसी गर्न सक्दैन, गुटबन्दीको अन्त्य हुन्छ ।’

उनले एउटा नेताले कति पटकसम्म अवसर पाउने भनेर पार्टीको विधानमै व्यवस्था गर्नुपर्ने बताए । ‘विधानमा यति समयसम्म उसले यति काम गर्नुपर्छ भनेर लेखिएको छ, तर त्यसो गरिएन भने के हुन्छ भनेर लेखिएको छैन, त्यसकारण अहिलेसम्म जिम्मेवारी पाएको मान्छेले केही नगरेपनि केही भएन,’ उनले भने ।

नेता पौडेलले अब राजनीति विषय र क्षमताले हुने बताए । ‘म तीस वर्षदेखि राजनीति गरिरहेको छु । तर तीस दिनअघि आएको साथीले मलाई जित्छ भने मैले चुप लागेर बस्न सक्नुपर्छ,’ उनले भने, ‘अबको राजनीति कन्टेण्टले गर्ने हो । कन्टेण्टमा अर्को साथीले जित्छ भने मैले कांग्रेसकालागि छोडिदिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

सहमति कार्यान्वयनमा विवाद, मधेश सरकार विस्तार अन्योलमा

११ जेठ, काठमाडौं — मधेश प्रदेशमा आइतबार सरकार विस्तार गर्ने तयारी भए पनि सत्ता गठबन्धनभित्रको विवादका कारण प्रक्रिया अन्तिम समयमा ...
अध्यादेशबाट हटाइएका पदाधिकारी पुनः निमित्त नियुक्त

अध्यादेशबाट हटाइएका पदाधिकारी पुनः निमित्त नियुक्त

१० जेठ, काठमाडौं — सरकारले अध्यादेशमार्फत पदमुक्त गरिएका विश्वविद्यालयका पदाधिकारीलाई पुनः निमित्तको जिम्मेवारी दिएर कामकाजमा खटाउ...
रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

रेलवे ट्र्याक विस्फोटले क्वेटा क्षेत्रमा क्षति

१० जेठ, काठमाडौं — पाकिस्तानको क्वेटास्थित चमन गेट नजिक रेलवे ट्र्याकमा भएको विस्फोटमा परी २० जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी...
विदेशी सम्बन्धन प्राप्त कलेजलाई व्यवस्थित गर्न सरकारको तयारी

विदेशी सम्बन्धन प्राप्त कलेजलाई व्यवस्थित गर्न सरकारको तयारी

१० जेठ, काठमाडौं — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजहरूलाई व्यवस्थित र प्रभाव...