खुश्बु ओलीको आरोप– आयातित सवारीमा राजस्व हिनामिना हुँदा राज्यलाई ५ अर्बभन्दा बढी नोक्सानी

२८ जेठ, काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले आयातित सवारीसाधनमा भन्सार दरको दुरुपयोग गरी ठूलो परिमाणमा राजस्व हिनामिना भएको दाबी गरेकी छन्।

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीबार बसेको बैठकमा बोल्दै ओलीले केही आयातित सवारीमा सिट क्षमतासम्बन्धी वर्गीकरण परिवर्तन गरेर कम भन्सार तिराइएको आरोप लगाइन्। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, अर्थसचिव घनश्याम उपाध्याय तथा अर्थ मन्त्रालय र भन्सार विभागका अधिकारीहरू उपस्थित थिए।

आर्थिक विधेयकमा कर दर हेरफेर तथा सूचना चुहावटसम्बन्धी विषयमा जवाफ माग्ने क्रममा ओलीले ७ वा ८ सिट क्षमताका सवारीलाई ११ सिटको रूपमा वर्गीकरण गरी कम भन्सार लगाइएको दाबी गरिन्।

उनका अनुसार ७/८ सिटका सवारीमा लाग्ने ३० प्रतिशत भन्सार शुल्कको सट्टा फोल्डिङ तथा अमान्य सिटलाई समेत गणना गरेर ११ सिटको श्रेणीमा राखी १० प्रतिशत भन्सार मात्र लिने गरिएको छ। यसबाट २० प्रतिशत भन्सार राजस्व गुमेको उनको जिकिर छ।

त्यस्तै, ११ देखि १४ सिट क्षमताका सवारीलाई १५ देखि १८ सिटको श्रेणीमा राखेर १० प्रतिशतको सट्टा १ प्रतिशत भन्सार मात्र असुल गरिएको आरोप पनि उनले लगाइन्। यसरी थप ९ प्रतिशत राजस्व हिनामिना भएको उनको दाबी छ।

ओलीका अनुसार यस्ता करिब ५ हजारभन्दा बढी सवारीसाधन आयात भई दर्ता भइसकेका छन् भने थप सवारी दर्ता हुने क्रम जारी छ।

यातायातसम्बन्धी कानुनी मापदण्ड विपरीत अतिरिक्त सिट राखेर राजस्व छुट दिने अभ्यास भइरहेको भन्दै उनले यसलाई गम्भीर विषयका रूपमा अनुसन्धान गर्न सरकारसँग माग गरिन्।

राजस्व हिनामिनाको विषयमा सम्बन्धित निकायहरू मौन रहेको तथा मन्त्री र सचिवहरूसँग जानकारी माग्दा स्पष्ट जवाफ नपाएको पनि उनले बताइन्।

२०८० सालयता यस्ता गतिविधिका कारण राज्यलाई ५ अर्ब रुपैयाँभन्दा बढी राजस्व नोक्सानी भएको दाबी गर्दै ओलीले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छन्।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

इभी गाडी कर छली प्रकरण छानबिन गर्न राप्रपाको माग

इभी गाडी कर छली प्रकरण छानबिन गर्न राप्रपाको माग

२८ जेठ, काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भन्सार कर छलीसम्बन्धी प्रकरणको तत्का...
प्रकाशशरण महतको प्रस्ताव– कांग्रेसमा तीन कामका लागि साझा संयन्त्र बनाऔं

प्रकाशशरण महतको प्रस्ताव– कांग्रेसमा तीन कामका लागि साझा संयन्त्र बनाऔं

२८ जेठ, काठमाडौं — नेपाली कांग्रेसका निवर्तमान प्रवक्ता प्रकाशशरण महतले पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्दै १५औँ महाधिवेशन निष्...
कर चुहावट आरोप प्रमाणित भए सार्वजनिक जीवन नै त्याग्न तयार छु : अर्थमन्त्री वाग्ले

कर चुहावट आरोप प्रमाणित भए सार्वजनिक जीवन नै त्याग्न तयार छु : अर्थमन्त्री वाग्ले

२८ जेठ, काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारीसाधनमा कर वृद्धि हुने सूचना चुहाएको आरोप प्रमाणित गर्न चुनौती ...
खुश्बु ओलीको आरोप– आयातित सवारीमा राजस्व हिनामिना हुँदा राज्यलाई ५ अर्बभन्दा बढी नोक्सानी

खुश्बु ओलीको आरोप– आयातित सवारीमा राजस्व हिनामिना हुँदा राज्यलाई ५ अर्बभन्दा बढी नोक्सानी

२८ जेठ, काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले आयातित सवारीसाधनमा भन्सार दरको दुरुपयोग गरी ...