६ जेठ, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद धनन्जय रेग्मीले आफूले सुगौली सन्धिको प्रतिलिपि पढ्न नपाएको बताएका छन् ।
बुधबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । परराष्ट्रमन्त्री शिशिर खनाल उपस्थित रहेको बैठकमा उनले सीमा समस्यासँग सम्बन्धित विषयमा प्रश्न उठाएका थिए ।
रेग्मीले भने, “सीमाको समस्या वास्तवमा के हो ? सुगौली सन्धि के हो ? हामीले त्यसको प्रतिलिपि पढ्न पाएनौं । त्यो कहाँ छ ? पढ्न पाएको भए धेरै कुरा बुझ्न सकिन्थ्यो ।”
अर्को प्रसङ्गमा उनले नेपालमा ‘रिसर्चर भिसा’को व्यवस्था गर्न पहल गर्न पनि आग्रह गरेका छन् ।
उनले भने, “नेपालमा अनुसन्धानकर्ताका लागि छुट्टै रिसर्चर भिसा दिने व्यवस्था छैन । अहिले अनुसन्धानका लागि आउनेहरू पर्यटक भिसामै आउँछन् । रिसर्चर भिसाको व्यवस्था भए उनीहरूको सम्मान बढ्नेछ र अनुसन्धानका काममा पनि प्रोत्साहन मिल्नेछ ।”
रेग्मीले विदेशमा रहेका नेपालीहरूको वास्तविक अवस्था र तथ्यांकबारे स्पष्ट जानकारी आवश्यक रहेको पनि बताएका छन् ।
उनले भने, “गैरआवासीय नेपालीको संख्या कति छ ? कति विद्यार्थी विदेश गएका छन् ? कुन माध्यमबाट कति पैसा बाहिरिएको छ ? यी विषयको पहिचान गर्न सकियो भने समस्या समाधान गर्न पनि सहज हुन्छ । हामीले रेमिटेन्स भित्रिएको मात्र हेरिरहेका छौं, बाहिर गएको पक्षलाई ध्यान दिएका छैनौं ।”
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बुधबारको बैठकमा परराष्ट्र मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल भइरहेको छ ।



