७ जेठ, काठमाडौं — प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न प्रधानमन्त्री बालेन शाहलाई संसदमा उपस्थित गराउनुपर्ने माग गर्दै प्रतिपक्षी सांसदहरूले विरोध जनाएका छन् ।
प्रतिपक्षी सांसदहरूले नियमावली कार्यान्वयनको माग गर्दै संसद बैठक अवरुद्ध गरेपछि सभामुख डिपी अर्याल प्रधानमन्त्रीसँग भेट गर्न सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका हुन् ।
विरोधका कारण सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।
रास्वपाका एक नेताका अनुसार सभामुख र प्रधानमन्त्रीबीच छोटो भेटवार्ता भएको छ ।
उनले भने, “सभामुख अहिले दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफलमा हुनुहुन्छ ।”
प्रतिनिधिसभा नियमावलीमा रहेको प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको व्यवस्था कार्यान्वयन नगरी अघि बढ्न खोजिएको भन्दै सभामुख अर्यालमाथि दबाब बढेको छ ।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रत्येक महिनाको पहिलो सातामा एक दिन प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था छ । यदि तोकिएको दिन कार्यक्रम सञ्चालन हुन नसके सभामुखले अर्को मिति तोक्न सक्ने व्यवस्था पनि रहेको छ ।
नियमावली अनुसार प्रश्नोत्तर कार्यक्रमको समय निर्धारण गर्ने जिम्मेवारी सभामुखको हो । तर जेठ महिनाको पहिलो सातामा चार दिनसम्म संसद बैठक चलिसक्दा पनि सभामुखले प्रधानमन्त्री बालेन शाहसँग प्रश्नोत्तर कार्यक्रमको समय तोकेका छैनन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा संसद बैठक छाडेर बाहिरिएका र त्यसपछि प्रतिपक्षीको लगातार विरोध र बहिष्कारका बीच पनि संसदमा उपस्थित नभएका प्रधानमन्त्री बालेनलाई नियमअनुसार प्रश्नको सामना गर्न संसदमा उपस्थित गराउनुपर्ने भन्दै प्रतिपक्षी सांसदहरूले बिहीबार विरोध गरेका हुन् ।



