सीमा विवादसम्बन्धी विषयमा सरकार गम्भीर रहेको सभामुखको विश्वास

२५ जेठ, काठमाडौं — सभामुख डोलप्रसाद अर्यालले नेपाल–भारत सीमा विवादसम्बन्धी विषयमा विपक्षी दलहरूले उठाएका प्रश्नप्रति सरकार गम्भीर रहेको विश्वास व्यक्त गरेका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सभामुख अर्यालले केही दिनयता सदन अवरुद्ध भइरहेको विषयप्रति आफ्नो निरन्तर ध्यानाकर्षण रहेको उल्लेख गर्दै सत्तापक्ष र विपक्षी दलबीच संवाद जारी रहेको जानकारी दिए।

प्रधानमन्त्री बालेन्द्र शाहले १७ जेठमा प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि केही स्थानमा भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले तथ्य माग गर्दै विरोध जनाइरहेका छन्।

विपक्षी दलहरूको निरन्तर विरोधका कारण प्रतिनिधिसभा कार्यसूचीमा प्रवेश गर्नसमेत कठिनाइ भइरहेको छ। यही सन्दर्भमा सभामुख अर्यालले सरकार र विपक्षीबीच संवाद भइरहेको र समाधानको प्रयास जारी रहेको बताएका हुन्।

‘विगत केही दिनदेखि सदन स्थगित भइरहेको छ। उठाइएका विषयप्रति मेरो पनि ध्यानाकर्षण हुँदै आएको छ। सत्तापक्षबाट विपक्षी दलसँग संवाद भइरहेको जानकारी पनि छ,’ सभामुख अर्यालले भने।

उनले सांसदहरूले उठाएका विषय सरकारसमक्ष औपचारिक रूपमा पुगेको उल्लेख गर्दै त्यसलाई सरकारले गम्भीरतापूर्वक लिने विश्वास व्यक्त गरे।

‘हामीले हाम्रा मुद्दा र विषयहरू दर्ज गराएका छौं। सरकार त्यसप्रति गम्भीर हुन्छ भन्ने मलाई विश्वास छ। त्यसकारण अब हामी पनि हाम्रो कार्यसूचीतर्फ अगाडि बढौं,’ उनले आग्रह गरे।

यसैबीच, प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन (तेस्रो संशोधन) विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

बैठकको प्रारम्भमा सभामुखले कार्यव्यवस्था परामर्श समितिमा मनोनयन गरिएका सदस्यहरूको नाम सभालाई जानकारी गराउनेछन्। त्यसपछि आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल सुरु हुनेछ।

अर्थमन्त्री वाग्लेले बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ पनि उनले दिने कार्यक्रम छ।

त्यसपछि अर्थमन्त्रीले विनियोजन विधेयक तथा राष्ट्र ऋण उठाउने विधेयक पनि प्रतिनिधिसभामा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

इभी गाडी कर छली प्रकरण छानबिन गर्न राप्रपाको माग

इभी गाडी कर छली प्रकरण छानबिन गर्न राप्रपाको माग

२८ जेठ, काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भन्सार कर छलीसम्बन्धी प्रकरणको तत्का...
प्रकाशशरण महतको प्रस्ताव– कांग्रेसमा तीन कामका लागि साझा संयन्त्र बनाऔं

प्रकाशशरण महतको प्रस्ताव– कांग्रेसमा तीन कामका लागि साझा संयन्त्र बनाऔं

२८ जेठ, काठमाडौं — नेपाली कांग्रेसका निवर्तमान प्रवक्ता प्रकाशशरण महतले पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्दै १५औँ महाधिवेशन निष्...
कर चुहावट आरोप प्रमाणित भए सार्वजनिक जीवन नै त्याग्न तयार छु : अर्थमन्त्री वाग्ले

कर चुहावट आरोप प्रमाणित भए सार्वजनिक जीवन नै त्याग्न तयार छु : अर्थमन्त्री वाग्ले

२८ जेठ, काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारीसाधनमा कर वृद्धि हुने सूचना चुहाएको आरोप प्रमाणित गर्न चुनौती ...
खुश्बु ओलीको आरोप– आयातित सवारीमा राजस्व हिनामिना हुँदा राज्यलाई ५ अर्बभन्दा बढी नोक्सानी

खुश्बु ओलीको आरोप– आयातित सवारीमा राजस्व हिनामिना हुँदा राज्यलाई ५ अर्बभन्दा बढी नोक्सानी

२८ जेठ, काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले आयातित सवारीसाधनमा भन्सार दरको दुरुपयोग गरी ...