विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी लायन्स एनपीएल फाइनलमा

२५ मंसिर, काठमाडौं — उत्कृष्ट बलिङ प्रदर्शन सहित लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको क्वालिफायर–२ मा लुम्बिनीले विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै उपाधि भिडन्त सुनिश्चित गरेको हो।

टसपछि ब्याटिङ आमन्त्रण पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेटका क्षतिमा १३४ रन बनायो। जवाफमा आएको विराटनगर १७.५ ओभरमै ९४ रनमा समेटिँदै पराजित भयो। लगातार दोस्रो खेलमा विराटनगर १ सय रनमुनि अलआउट भएको हो।

लुम्बिनीले अब शनिबार हुने फाइनलमा सुदूरपश्चिम रोयल्ससँग भिड्नेछ। लगातार पाँच खेलमा जित दर्ता गरेको लुम्बिनी इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई पराजित गरेर क्वालिफायर–२ पुगेको थियो, जबकि विराटनगर क्वालिफायर–१ मा सुदूरपश्चिमसँग ७७ रनले पराजित भएको थियो।

लुम्बिनीका लेगब्रेक बलर तिलकराज भण्डारीले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए। अभिशेष गौतम, रुबेन ट्रम्पलमन र जेजे स्मिटले २–२ विकेट तथा शेर मल्लले १ विकेट हात पारे। अभिशेषले २२, ट्रम्पलमनले ९ र स्मिटले १५ रन खर्चेका थिए।

विराटनगरको सुरुवात कमजोर रह्यो। ६ रनभित्र ३ विकेट गुमाएको टोलीलाई ट्रम्पलमनले लगातार बलमा मार्टिन गप्टिल (२) र लोकेश बम (०) लाई आउट गर्दै दबाबमा पारे। अर्को ओभरमा शेर मल्लले फाफ डु प्लेसिसलाई ३ रनमा बोल्ड गरे। साम हेजलेटले ३४ रन बनाएर प्रतिरोध गरे पनि विराटनगरको पुनरागमन सफल भएन। मर्चेन्ट डी ल्याङ्गे १७, नरेन भट्ट २१ रनमा आउट भए। अन्य ब्याटरको योगदान न्यून रह्यो।

यसअघि, लुम्बिनीका कप्तान रोहित पौडेल र डी’आरसी शटले महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई प्रतिस्पर्धी स्कोरसम्म पुगेका थिए। दिनेश अधिकारी १ रनमै आउट भएपछि रोहित र शटले दोस्रो विकेटका लागि ५४ बलमा ६९ रन जोडे। रोहितले ३० बलमा ३० रन बनाउँदै सुवास भण्डारीबाट बोल्ड भए। शटले ४१ बलमा ४५ रन बनाए। अन्तिम ओभरहरूमा रन–प्रवाह कमजोर भएपछि लुम्बिनी १३४ रनभन्दा अगाडि बढ्न सकेन।

विराटनगरबाट सुवास भण्डारी र प्रतिश जिसीले ३–३ विकेट लिए। सुवासले ४ ओभरमा १४ रन खर्चेर लुम्बिनीको शीर्षक्रम दबाबमा पारे भने प्रतिशले २७ रन खर्चे। कप्तान सन्दीप लामिछानेले ४ ओभरमा १८ रन दिएर २ विकेट जोडे।

लुम्बिनी फाइनल प्रवेशसँगै एनपीएल उपाधि दौड थप रोचक बनेको छ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

नेपालमा विदेशी लगानी र डिजिटल भविष्य जोगाउन एनसेलको अनुरोध: प्रधानमन्त्री कार्यालयमा पुन निवेदन, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

नेपालमा विदेशी लगानी र डिजिटल भविष्य जोगाउन एनसेलको अनुरोध: प्रधानमन्त्री कार्यालयमा पुन निवेदन, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

८ साउन, काठमाडौं — नेपालको दूरसञ्चार क्षेत्र, विदेशी लगानीको वातावरण र १ करोड ४० लाखभन्दा बढी सेवाग्राहीको निरन्तरतालाई ध्यानमा रा...
भूमिहीन दलित र सुकुमवासीका लागि सरकारले फेरि खोल्यो निवेदन प्रक्रिया

भूमिहीन दलित र सुकुमवासीका लागि सरकारले फेरि खोल्यो निवेदन प्रक्रिया

४ साउन, काठमाडौं — सरकारले ६६ स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई अन्तिमपटक निवेदन दिन आह्वान ग...
प्रदेशमा तीन पार्टीको संयुक्त सरकार जनादेशविपरीत हुन्छ : गगन थापा

प्रदेशमा तीन पार्टीको संयुक्त सरकार जनादेशविपरीत हुन्छ : गगन थापा

३ साउन, काठमाडौं — नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मिल...
एमबाप्पेले बनाए १० गोल, गोल्डेन बुट जित्ने सम्भावना बलियो

एमबाप्पेले बनाए १० गोल, गोल्डेन बुट जित्ने सम्भावना बलियो

३ साउन, काठमाडौं — फिफा विश्वकप २०२६ मा गोल्डेन बुटको प्रतिस्पर्धा र विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको दौडमा फ्रान्सका स्टार फर...