२६ चैत, काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग मुद्दा दायर गर्न आवश्यक प्रमाण र आधार नपुगेपछि आफू रिहा भएको बताएका छन्। हाजिरी जमानिमा रिहा भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत १३ दिनसम्म आफूलाई गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको उल्लेख गरेका छन्।
उनले सरकारमाथि पूर्वाग्रह र प्रतिशोधका आधारमा फौजदारी अभियोग लगाएर आफूलाई हिरासतमा राखिएको आरोप लगाउँदै अन्ततः प्रमाण अभावका कारण रिहा हुनुपरेको बताएका छन्।
ओलीले आफ्नो रिहाइका लागि आवाज उठाउने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले न्यायप्रेमी नागरिक, कानुन व्यवसायी, न्यायकर्मी, विभिन्न राजनीतिक दल तथा नेता, र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गरेका छन्। साथै, आदेश जारी गर्ने सर्वोच्च अदालतप्रति पनि सम्मान व्यक्त गरेका छन्।
प्रहरी हिरासतमा रहँदा आफूलाई मानवीय व्यवहार गरेको भन्दै प्रहरी प्रशासनलाई पनि धन्यवाद दिएका छन्। त्यस्तै, उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका स्वास्थ्यकर्मीहरूप्रति पनि कृतज्ञता व्यक्त गरेका छन्।
पक्राउको विरोधमा भएको प्रदर्शनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग गरेका छन्। यदि सरकारले जिम्मेवारी नलिएमा पार्टीले खर्च बेहोर्ने बताएका छन्।
स्वास्थ्य अवस्था अनुकूल नभएकाले केही दिन अस्पतालमै उपचार गराउने जानकारी दिँदै उनले शुभेच्छुक तथा पार्टीका नेता–कार्यकर्ताहरूप्रति आभार व्यक्त गरेका छन्।
जेनजी आन्दोलनमा दमन गरेको तथा लापरबाहीपूर्वक ज्यान गएको आरोपमा चैत १४ गते पक्राउ परेका ओली आज रिहा भएका हुन्।



