६ जेठ, काठमाडौं — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई संसद्प्रति जवाफदेही बनाउनका लागि आफूहरू निलम्बन हुन पनि तयार रहेको बताएका छन् ।
बुधबार सिंहदरबारस्थित संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारविरुद्ध भइरहेको विरोध आगामी दिनमा पनि जारी रहने बताएका हुन् ।
साम्पाङले सरकारलाई प्रश्न उठाउन नदिने गरी सभामुखले रुलिङ गरेको आरोप पनि लगाए । उनले आफूहरूले त्यसको विरोध गरिरहेको बताएका छन् ।
उनका अनुसार सार्वभौम संसद् र संसदीय विधि–विधानको संरक्षणका लागि आवश्यक परे आफूहरू निलम्बन हुनसमेत तयार छन् ।
उनले सुकुम्बासी समस्या, लिपुलेक मुद्दा, विदेशी ऋणलगायत विभिन्न विषयमा आफूहरूले उठाएका प्रश्नहरूको स्पष्ट जवाफ नआएको बताए ।
सरकारले जनताका चासो र प्रश्नको उत्तर दिन नसकेको आरोप लगाउँदै साम्पाङले यसको मूल्यांकन अन्ततः जनताले नै गर्ने बताए ।



