२८ जेठ, काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारीसाधनमा कर वृद्धि हुने सूचना चुहाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। आरोप पुष्टि भए आफू सार्वजनिक जीवनबाटै बाहिरिन तयार रहेको उनको भनाइ छ।
बिहीबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै वाग्लेले कर दर हेरफेर तथा सूचना चुहावटसम्बन्धी आरोपको खण्डन गरेका हुन्।
विद्युतीय सवारीसाधनमा कर बढ्ने जानकारी पूर्वसूचना स्वरूप बाहिरिएको भन्ने आरोपलाई उनले ‘ननसेन्स’ भन्दै अस्वीकार गरे।
‘यसको प्रमाण ल्याएर आउनुहुन्छ भने म कठघरामा उभिन तयार छु,’ वाग्लेले भने, ‘अर्ब–खर्बको कुरा जथाभावी भइरहेको छ। दुई अर्ब होइन, स्वर्णिम वाग्लेले दुई रुपैयाँ बराबरको पनि बदमासी गरेको प्रमाणित भयो भने म अर्थमन्त्री मात्र होइन, सांसद पद पनि छाड्छु, सार्वजनिक जीवन नै त्याग्न तयार छु। यो मेरो चुनौती हो।’
अर्थमन्त्री वाग्लेले आफूविरुद्ध लगाइएका आरोपहरू तथ्य र प्रमाणका आधारमा पुष्टि गर्न आग्रह गर्दै राजनीतिक आरोपभन्दा प्रमाणमा आधारित बहस हुनुपर्ने धारणा व्यक्त गरे।
उनले सार्वजनिक पदमा रहेका व्यक्तिहरूले आफ्नो आचरणबारे स्पष्ट जवाफदेहिता देखाउनुपर्ने उल्लेख गर्दै अन्य सांसदहरूलाई पनि यस्तै स्तरको नैतिक जिम्मेवारी र आत्मविश्वास राख्न शुभकामना दिएका छन्।
पछिल्ला दिनहरूमा आर्थिक विधेयकमा करसम्बन्धी व्यवस्था फेरबदल भएको, सूचना चुहावट भएको तथा विद्युतीय सवारीसाधनको कर नीतिमा अनियमितता भएको आरोपलाई लिएर अर्थ मन्त्रालय र अर्थमन्त्री वाग्ले आलोचनाको केन्द्रमा छन्। विपक्षी दलहरूले यस विषयमा छानबिनको माग गरिरहेका छन् भने वाग्लेले सबै आरोप निराधार रहेको दाबी गर्दै आएका छन्।



