‘नागरिकको ज्यानलाई नाफा–घाटाको तराजुमा जोख्न मिल्दैन’: प्रदीप पौडेल

२१ साउन, काठमाडौं — पूर्वस्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमलाई आवश्यक सुधार गर्दै निरन्तर सञ्चालन गर्न सरकारसँग आग्रह गरेका छन्।

उनले सरकारका उच्च पदस्थ अधिकारी तथा सरकार समर्थकहरूबाट स्वास्थ्य बिमाबारे नकारात्मक अभिव्यक्ति आउँदा लाखौं नेपालीको जीवन जोखिममा पर्ने अवस्था सिर्जना भएको बताएका छन्।

स्वास्थ्य बिमामार्फत उपचार गर्न कठिनाइ भइरहेको, उपचार सेवाको दायरा साँघुरिएको र बिमितले सहज रूपमा सेवा पाउन नसकेको गुनासो बढिरहेका बेला पौडेलले बिहीबार भिडियो सन्देश जारी गर्दै सरकारसँग प्रश्न गरेका छन्, “नागरिकको ज्यानलाई नाफा र घाटाको तराजुमा जोख्न मिल्छ?”

उनले आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित नहोस् भन्ने उद्देश्यले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको स्मरण गराउँदै अहिले सरकारकै जिम्मेवार व्यक्तिहरूले यो कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न नसकिने संकेत दिने अभिव्यक्ति दिइरहेको बताए।

पौडेलले भने, “३५ सय रुपैयाँ शुल्क लिएर कसरी एक लाख रुपैयाँसम्मको सेवा दिन सकिन्छ भन्ने टिप्पणी सरकारका जिम्मेवार व्यक्तिबाट सुनिन्छ। यदि राज्यले नागरिकलाई दिने सेवा वा सहुलियतलाई ब्यालेन्स सिटको नाफा–घाटाको हिसाबले मात्र हेर्ने हो भने राज्य र व्यापारीबीचको फरक के रहन्छ?”

उनले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्।

पौडेलका अनुसार अहिले सरकारका उच्च पदस्थ व्यक्तिहरू र समर्थकहरू स्वास्थ्य बिमा कार्यक्रमप्रति नकारात्मक देखिएका छन्, जसका कारण लाखौं नेपालीको जीवन जोखिममा पर्न सक्ने अवस्था बनेको छ।

उनले आफू स्वास्थ्य मन्त्री रहँदा स्वास्थ्य बिमा कार्यक्रम सुधार गर्न विभिन्न पहल गरिएको स्मरण गर्दै सेवा दायरा विस्तार गरी पाँच लाख रुपैयाँसम्म पुर्‍याउने आधार तयार पारिएको बताए।

उनका अनुसार मिर्गौला प्रत्यारोपणका बिरामीलाई आठ लाख रुपैयाँसम्मको सेवा दिने व्यवस्था गरिएको थियो। साथै, देशका सबै पालिकामा स्वास्थ्य बिमा सेवा विस्तार गरिएको र बिमितले आफू बसोबास गरिरहेको स्थानबाटै सेवा लिन सक्ने व्यवस्था मिलाइएको उनले उल्लेख गरे।

पौडेलले आफू मन्त्री हुँदा समस्यामा परेको स्वास्थ्य बिमा कार्यक्रमलाई पुनः प्रभावकारी बनाउने प्रयास गरिएको दाबी गर्दै कल्याणकारी राज्यले नागरिकलाई सेवा प्रदान गर्दा नाफा–घाटाको आधारमा मूल्याङ्कन गर्न नहुने बताए।

उनले आफू मन्त्री रहँदा डा. शम्भु आचार्यको नेतृत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनका मुख्य सिफारिसहरू कार्यान्वयन गरे स्वास्थ्य बिमाका अधिकांश समस्या समाधान हुने विश्वास व्यक्त गरे। साथै, स्वास्थ्य बिमा कार्यक्रमलाई सुधारसहित निरन्तर सञ्चालन गर्न सरकारसँग माग पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

सम्बन्धित समाचार

‘नागरिकको ज्यानलाई नाफा–घाटाको तराजुमा जोख्न मिल्दैन’: प्रदीप पौडेल

२१ साउन, काठमाडौं — पूर्वस्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमलाई आवश्यक सुधा...
जनविश्वास गुमेपछि सरकारले ध्यान मोड्न खोजिरहेको कांग्रेसको दाबी

जनविश्वास गुमेपछि सरकारले ध्यान मोड्न खोजिरहेको कांग्रेसको दाबी

२० साउन, काठमाडौं — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार नैतिक र राजनीतिक संकटमा परेका बेला समस्या समाधान गर्नुको सट्टा जनताक...
सरकारले सार्वजनिक गर्‍यो मन्त्रिपरिषद् बैठकका ७ निर्णय

सरकारले सार्वजनिक गर्‍यो मन्त्रिपरिषद् बैठकका ७ निर्णय

  २० साउन, काठमाडौं — सरकारले मन्त्रिपरिषद् बैठकबाट भएका सातवटा मुख्य निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा...
साउन २२ को बैठकअघि कार्यव्यवस्था समितिको छलफल

साउन २२ को बैठकअघि कार्यव्यवस्था समितिको छलफल

२० साउन, काठमाडौं — प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प...