१० जेठ, काठमाडौं — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजहरूलाई व्यवस्थित र प्रभावकारी रूपमा नियमन गर्न नयाँ नियमावली ल्याउन लागिएको जानकारी दिएका छन् ।
आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजहरूबारे धेरै गुनासा आइरहेको भन्दै त्यसलाई व्यवस्थित गर्न नियमावली तयार पारिएको बताएका हुन् ।
उनका अनुसार शिक्षा मन्त्रालयले नियमावलीको मस्यौदा तयार गरी अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा पठाइसकेको छ । ती मन्त्रालयबाट सुझाव र स्वीकृति प्राप्त भएपछि मन्त्रिपरिषद्मा पेस गरिनेछ ।
मन्त्री पोखरेलले हालसम्म विदेशी विश्वविद्यालयसँग सम्बन्धन भएका कलेजहरू प्रभावकारी रूपमा नियमन हुन नसकेको बताए ।
उनले नियमावलीमार्फत कुन आधारमा विदेशी विश्वविद्यालयलाई सम्बन्धन दिन मिल्ने, कुनलाई नदिने तथा नियमनको ढाँचा कस्तो हुने भन्ने विषय स्पष्ट गरिने जानकारी दिए ।
उनका अनुसार नेपाली विश्वविद्यालय र कलेजहरू नियमनको दायरामा भए पनि विदेशी विश्वविद्यालयसँग सम्बन्धन भएका कलेजहरू व्यवस्थित रूपमा नियमन हुन सकेका छैनन् ।
शिक्षा मन्त्रालयले अहिले तीन वटा नियमावली एकसाथ अगाडि बढाइरहेको पनि उनले बताए । तीमध्ये शिक्षा नियमावली, शैक्षिक परामर्श (कन्सल्टेन्सी) संस्था नियमनसम्बन्धी नियमावली तथा विदेशी विश्वविद्यालयसम्बद्ध कलेज नियमनसम्बन्धी नियमावली रहेका छन् ।
शिक्षा ऐन चालु संसद् अधिवेशनमा ल्याउन नसकिएकाले हाल शिक्षा नियमावलीलाई अगाडि बढाइएको उनले बताए ।
त्यस्तै विद्यालयहरूमा शिक्षक दरबन्दी मिलानको काम पनि अगाडि बढाइसकिएको जानकारी उनले दिएका छन् ।



