९ मंसिर, काठमाडौं — बालश्रमसम्बन्धी कानुन संशोधनका लागि ल्याइएको विधेयकमाथि संसदीय समितिमा भइरहेको सैद्धान्तिक छलफलमा बालबालिकाको श्रममा प्रवेश गर्ने उमेर, संवैधानिक अधिकार, अन्तर्राष्ट्रिय मापदण्ड र बालश्रमका सामाजिक तथा आर्थिक कारणलाई सम्बोधन गर्नुपर्ने विषय उठेको छ।
प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसद कृपाराम रानाले विधेयकलाई संविधान र अन्तर्राष्ट्रिय श्रम मापदण्डअनुकूल बनाउँदै बालबालिकाको सर्वाङ्गीण विकासको अधिकार सुरक्षित हुने गरी अघि बढाउनुपर्ने बताए।
त्यस्तै, सांसद सोम शर्माले बालश्रमलाई कानुन र जरिवानाबाट मात्रै नियन्त्रण गर्न नसकिने भन्दै परिवारको आर्थिक अवस्था र रोजगारीको अभावसमेत सम्बोधन गर्नुपर्नेमा जोड दिए।
सरकारले ल्याएको बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयकमा १३ वर्ष उमेर पूरा भएका बालबालिकालाई निश्चित सर्तमा हलुका काममा लगाउन सकिने व्यवस्था प्रस्ताव गरिएको छ। यही व्यवस्थासहित बालश्रमका विभिन्न स्वरूप, काम गर्ने समय, रोजगारदाताको दायित्व र बालबालिकाको संरक्षणसम्बन्धी प्रावधानमाथि समितिमा छलफल भइरहेको छ।
सांसद कृपाराम रानाले विधेयकको सैद्धान्तिक पक्षमा छलफल गर्दा संविधानको धारा ३९ मा प्रत्याभूत बालबालिकाको मौलिक हकलाई केन्द्रमा राखेर समीक्षा गर्नुपर्ने बताए।
संविधानले बालबालिकालाई शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन र सर्वाङ्गीण व्यक्तित्व विकासको हक सुनिश्चित गरेको उल्लेख गर्दै उनले प्रस्तावित विधेयकले ती अधिकार कुण्ठित गर्ने अवस्था आउन नहुने बताए।
‘हामीले ल्याएको विधेयकसँग सम्बन्धित कुराहरू र संवैधानिक व्यवस्थाहरू कुनै बाझिएका त छैनन्? त्यो कुरा सैद्धान्तिक र नीतिगत रूपमा हामीले सबैभन्दा पहिले हेर्नुपर्ने हुन्छ,’ रानाले भने।
उनले संविधानको धारा ३९ को उपधारा २ मा उल्लेखित बालबालिकाको सर्वाङ्गीण विकासको अधिकार र उपधारा ४ मा रहेको कलकारखाना, खानी तथा जोखिमपूर्ण काममा बालबालिकालाई लगाउन नपाइने व्यवस्थालाई विधेयकले पर्याप्त रूपमा सुनिश्चित गरेको छ कि छैन भन्ने परीक्षण गर्नुपर्ने बताए।
विधेयकको अनुसूचीमा समेटिएका श्रमका स्वरूपमाथि पनि सूक्ष्म छलफल गर्नुपर्ने उनको भनाइ छ। एउटै कामको प्रकृति र परिस्थितिअनुसार जोखिम फरक हुन सक्ने भएकाले बालबालिकालाई काममा लगाउन सकिने सीमाबारे स्पष्ट व्यवस्था आवश्यक रहेको उनले बताए।
रानाले बालश्रमसम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को महासन्धि नम्बर १३८ ले न्यूनतम श्रम उमेर १५ वर्ष निर्धारण गरेको विषय पनि उठाए। तर, नेपालका बालबालिकाको पोषण, पारिवारिक अवस्था, भूगोल र सामाजिक परिवेशलाई समेत उमेर निर्धारणसम्बन्धी बहसमा ध्यान दिनुपर्ने उनको तर्क थियो।
‘विकसित राष्ट्रका बच्चा र विकासोन्मुख राष्ट्रका बच्चा तथा पछाडि परेका राष्ट्रका बच्चाको वृद्धि र विकासको उमेरमा पक्कै पनि फरक हुन्छ,’ उनले भने, ‘त्यसैले परिपक्व हुने समय पनि केही तलमाथि हुन सक्छ।’
उनले आईएलओ महासन्धि नम्बर १८२ ले बालश्रमका निकृष्ट स्वरूप तत्काल निषेध र उन्मूलन गर्नुपर्ने व्यवस्था गरेको भन्दै त्यसलाई पनि विधेयकमा समेटेर दफावार छलफलका क्रममा थप स्पष्ट पार्नुपर्ने बताए।
बालश्रमको सट्टा बालशिक्षा र बाल्यकालको संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले विधेयकको उद्देश्य बालबालिकालाई श्रममा प्रवेश गराउनु नभई उनीहरूको अधिकार सुरक्षित गर्नु हुनुपर्ने धारणा राखे।
बालश्रमको कारण गरिबी पनि
सांसद सोम शर्माले बालश्रमको विषयलाई कानुनी प्रावधानमा मात्रै सीमित गरेर हेर्न नहुने बताए।
बालबालिकालाई काममा लगाउनुका पछाडि संरक्षणको अभाव, परिवारको कमजोर आर्थिक अवस्था, शिक्षा तथा रोजगारीको कमी र बालबालिकाको दुरुपयोगजस्ता कारण हुन सक्ने उनको भनाइ छ।
उनले अभिभावकको संरक्षणबाट बाहिर रहेका बालबालिका, ग्रामीण क्षेत्रबाट पढाइका लागि भन्दै अन्य व्यक्तिको जिम्मामा पठाइएका बालबालिका र आर्थिक अभावका कारण काममा पठाइएका बालबालिकाको अवस्थालाई अलग-अलग रूपमा अध्ययन गर्नुपर्ने बताए।
‘बालबालिकाले आफ्नो जीवन राम्रो देख्न सकेन, अर्को चाहिँ परिवारले आफ्नो जीवन राम्रो देख्न सकेन,’ शर्माले बालश्रमका कारण विश्लेषण गर्दा देखिने दुई अवस्था उल्लेख गर्दै भने।
उनले ग्रामीण क्षेत्रका परिवारले आर्थिक अभावका कारण बालबालिकालाई काठमाडौंलगायत सहरमा काम गर्न पठाउने गरेको बताए।
‘यसो नगर्नुस् न भन्दा पनि उहाँहरूले किन नगर्ने? कि त तिमीहरूले खान देऊ, कि त हामीलाई पैसा देऊ। यहाँ परिवार पाल्न गाह्रो भइरहेको छ,’ ग्रामीण क्षेत्रका परिवारको बाध्यता सुनाउँदै शर्माले भने।
बालश्रम निषेध गर्ने कानुन आवश्यक भए पनि आर्थिक बाध्यतामा परेका परिवारलाई सरकारले संरक्षण र सहयोगको विश्वास दिलाउनुपर्ने उनको तर्क छ।
उनले बालबालिकालाई श्रममा लगाउने नियतबाट गरिएका कामलाई कानुनले रोक्नुपर्ने तर आर्थिक बाध्यताका कारण बालबालिकालाई काममा पठाउने परिवारको अवस्था सुधार गर्न रोजगारी र आर्थिक सुरक्षाको व्यवस्था आवश्यक रहेको बताए।
‘त्यस्ता व्यक्तिहरूलाई रोजगारीको व्यवस्था गर्न सकियो र सरकारले त्यसको पहल गर्दै विश्वासको वातावरण सिर्जना गरिदियो भने सम्भवतः बालश्रमलाई एक हदसम्म रोक्न सकिन्छ,’ उनले भने।
बालश्रम रोक्न आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्ने, सरकारले विश्वासको वातावरण बनाउने र बालबालिकालाई काममा पठाउन बाध्य हुनुपर्ने अवस्था अन्त्य गर्न पहल गर्नुपर्ने शर्माको सुझाव छ।



