१८ चैत, काठमाडौं — नेपाल विद्युत प्राधिकरणको गौर वितरण केन्द्रले बक्यौता विद्युत महसुल असुली अभियानलाई तीव्र बनाएको छ। लामो समयदेखि शुल्क नतिर्ने व्यक्तिगत ग्राहक, निजी व्यवसाय र सरकारी कार्यालयहरूलाई लक्षित गर्दै कडा कदम चालिएको हो।
गौर वितरण केन्द्रका प्रमुख धिरेन्द्र यादवका अनुसार बारम्बारको ताकेता बेवास्ता भएपछि राजदेवी, ईशनाथ, गरुडा र माधवनारायण नगरपालिकामा एकैदिन विद्युत आपूर्ति काटिएको थियो। त्यसपछि राजदेवी, गरुडा र ईशनाथ नगरपालिकाले आंशिक बक्यौता तिरेपछि मात्र पुनः लाइन जोडिएको छ।
प्राधिकरणका अनुसार गौर वितरण केन्द्र अन्तर्गत पर्ने गौर, राजदेवी, दुर्गा भगवती, माधवनारायण, गढीमाई, गरुडा, परोहा, राजपुर, ईशनाथ, यमुनामाई र वृन्दावन नगरपालिकाभित्रका विद्यालय, स्वास्थ्य संस्था र वडा कार्यालयहरूले अझै पनि महसुल भुक्तानीमा ढिलाइ गरिरहेका छन्।
हाल पहिलो चरणमा सडक बत्ती बाहेकका बक्यौता असुलीमा ध्यान केन्द्रित गरिएको यादवले बताए। उनका अनुसार साउन १ गतेदेखि चैत १६ गतेसम्म ९ करोड ५५ लाख ८३ हजार ३१६ रुपैयाँ बक्यौता भएका २ हजार ४५ ग्राहकको लाइन काटिएको छ। तीमध्ये १ हजार ७७२ जनाले ५ करोड ५० लाख १५ हजार ३७७ रुपैयाँ तिरेपछि पुनः विद्युत सेवा सुचारु गरिएको छ।
त्यसैगरी, कालोसूचीमा रहेका ६० जनाबाट २४ लाख ४९ हजार ६३५ रुपैयाँ असुल गरिएको छ भने विद्युत चोरीमा संलग्न १२० जनामाथि कारबाही गरी १५ लाख ७६ हजार १२४ रुपैयाँ जरिवाना गरिएको जानकारी दिइएको छ।
प्राधिकरणले कुनै पनि बहानामा महसुल नतिर्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारेको छ। सरकारी निकाय वा प्रभावशाली व्यक्ति जोसुकै भए पनि बक्यौता नतिरेसम्म विद्युत लाइन काट्ने अभियान निरन्तर जारी रहने गौर वितरण केन्द्रले जनाएको छ।



